Sajhamanch Archive

दशौं हजार विपन्नको मुखमा माड हाल्ने ‘एकका लागि एक अभियान’

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, by .

झापा । सहारा नेपालको संयोजनमा सञ्चालित एकका लागि एक अभियानमा जेठ १२ गतेसम्म ६०२ जना ब्यक्ति र ५२ वटा संस्था जोडिएका छन् । अभियानको सचिवालयका अनुसार दाताहरुबाट नगद तथा जिन्सि सामान प्राप्त भएको छ ।

विपदको समयमा एक सक्षम परिवारले कम्तीमा अर्को एक विपन्न परिवारलाई भोक र रोगबाट जोगाउन सकियोस् भन्ने उद्देश्यले एकका लागि एक अभियानको परिकल्पना गरिएको संयोजक महेन्द्रकुमार गिरी बताउँछन् । ‘अब कोही हुने छैन भोकै’ थिम दिइएको अभियानको परिकल्पना अनुसार लकडाउनको ६० दिनसम्ममा हजारौं विपन्नहरु लाभान्वित भएका छन् ।

सचिवालयका प्रमुख गोपाल भट्टराईका अनुसार अभियानमा जोडिएका ६०२ जना व्यक्ति र ५२ वटा संस्थाबाट ५३ लाख ६६ हजार ३०६ रुपैयाँ नगद प्राप्त भएको छ । यस्तै दुई हजार केजी चामल, चार कार्टुन खानेतेल र १०० थान मास्क प्राप्त भएको छ ।

अभियानको तर्फबाट एक हजार ७०० परिवारका लागि चामल, दाल, तेल, नून तथा नुहाउने एवम् लुगाधुने साबुन प्रदान गर्ने ब्यवस्था मिलाइएको छ । झापा र मोरङका स्थानीय सरकारहरुसँगको समन्वयमा विपन्न परिवारको पहिचान गरी राहत प्रदान गरिएको संयोजक गिरीको भनाई छ ।

सचिवालयका प्रमुख भट्टराईका अनुसार मेचीनगर नगरपालिकाका १७६, शिवसताक्षी नगरपालिकाका १००, अर्जुनधाराका १५२ र बिर्तामोड नगरपालिकाका ३३८ परिवारले राहत प्राप्त गरिसकेका छन् । यसैगरी, कनकाई नगरपालिकाका १६३, दमक नगरपालिकाका १०० र भद्रपुर नगरपालिकाका १०० परिवारलाई राहत हस्तान्तरण गरिसकिएको छ ।

मोरङको सुन्दर हरैंचा नगरपालिकाका ७५ परिवार र उर्लाबारी नगरपालिकाका ४० परिवारले पनि अभियानले प्रदान गरेको राहत प्याकेज बुझिसकेका छन् । अभियानको सचिवालयका प्रमुख भट्टराईका अनुसार हालसम्म एक हजार २४४ परिवारलाई राहत प्रदान गरिएको छ भने लाभग्राहीको सूचिमा समेटिएका बाँकी साढे चार सयलाई पनि राहत वितरण भइरहेको छ ।

एकका लागि एक अभियानको ब्यानरमा विभिन्न सहरहरुमा सञ्चालित खाना खुवाउने कार्यक्रममा नौ हजार ३२५ जनाको भोको पेट भरिएको तथ्याङ्क छ । सरकारले तेस्रोपटक लम्ब्याएको लकडाउनको अवधिमा अभियानले चोकचोकमा खाना खुवाउने प्रबन्ध मिलाएको थियो ।
यसैगरी अभियानले पछिल्लो समय सुरु गरेको भिटिएम किट सम्बन्धी आव्हानलाई पनि देश विदेशमा रहेका सहयोगी मनहरुले साथ दिएका छन् ।

नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा गरिने पिसिआर परीक्षणका लागि आवश्यक पर्ने मेडिकल ल्यावरेटोरीको सामान भिटिएम उपलब्ध गराउने भनी अभियानको निर्णय हो । अभियानले एक हजार थान भिटिएम किट अर्थात् भाइरस कलेक्सन स्वाब किट वा भाइरस ट्रान्सपोर्ट मिडिया उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

सोही आव्हानलाई सगर्व स्वीकार गर्दै काठमाडौंमा रहेका, झापाको दमक १० स्थायी घर भई बिर्तामोडमा एसएस रियलस्टेट र कतारमा कन्स्ट्रक्सन कम्पनी सञ्चालन गर्ने दिनसन बोहोराले ५०० थान भिटिएम किट वापतको रकम उपलब्ध गराएका छन् । अभियानको सचिवालयका प्रमुख गोपाल भट्टराईका अनुसार बोहोराले ५०० थान भिटिएम किट खरिद गर्न दुई लाख तीन हजार ४०० रुपैयाँ प्रदान गरेका छन् ।

यसैगरी झापा हल्दिबारी वडा नं. २ स्थायी घरभई अमेरिकाको भर्जिनियामा बस्ने यामकुमार सिटौलाले पनि १०० थान भिटिएम किट वापतको ४५ हजार रुपैयाँ उपलब्ध गराएका सम्पर्क व्यक्ति गोपाल भट्टराईले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *