Sajhamanch Archive

चौरजहारी घटना : थप एक युवकको भेटियो शव

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

जाजरकोट । जाजरकोटको भेरी नदीमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ।

भेरी नगरपालिकाका लोकेन्द्र सुनारको शव कुदु भन्ने नदीमा तैरिएको अवस्थामा गोताखोरले फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये सोमबार बेलुकी जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. ४ का का १७ वर्षीय गणेश बुढा मगरको शव फेला परेको थियो।

घटना भएकै दिन शनिबार राति १० बजेतिर केटी लिन भनेर सोती गाउँ पुगेका सोही ठाउँका २१ वर्षीय नवराज विकको र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षीय टीकाराम सुनारको शव आइतबार बिहान सानी भेरी नदी किनारमा फेला परेको थियो।

गत शनिबार बेलुका ५ बजेतिर मल्ल थरकी केटीलाई भगाएर ल्याउने भन्दै मृतक नवराज विकले थप १८ जना साथी लगेर रुकुमपश्चिमको चौरजहारी पुगेको समयमा घटना भएको थियो।

त्यहाँ जानेमध्ये केही युवा सल्यान र बाँके, जाजरकोट र रुकुम पश्चिम जिल्लाका समेत रहेको प्रहरीले जानकारी दिएको छ।

रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी केसीले बेपत्ता युवाहरूको उद्धार र खोजी कार्यका लागि कर्णाली प्रदेशबाट ३० जना थप जनशक्ति आएको जानकारी दिएका छन्।

घटना अनुसन्धान कार्यमा सहयोगका लागि संघीय प्रहरी इकाईबाट एक जना प्रहरी निरीक्षकको कमाण्डमा थप दुई जनाको टोली पनि यसअघि नै त्यहाँ पुगेको छ।

गृह मन्त्रालयले पनि मंगलबार घटनाको निष्पक्ष छानबिन गर्न भन्दै एउटा समिति बनाएको छ।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *