Sajhamanch Archive

मासिक श्रावका कारण महिलाले कति तनाव र पीडा झेल्छन् ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by .

महिला र पुरुष एकै भनेपनि शारीरिक हिसाबले महिलाहरु केही संवेदनशिल हुन्छन् । जीवनको हरेक चरणमा उनीहरुले केही जटिलता र पीडा झेल्नुपर्ने हुन्छ । जस्तो कि, किशोरवयमा पुग्न नपाउँदै उनीहरुमा महिनावरी सुरु हुन्छ । महिनावरीको सुरुवातमा डर, लाज र दुखाई एकसाथ सहनुपर्ने हुन्छ । यो क्रम हरेक महिनाजसो दोहोरिनेगर्छ ।

विवाहपछि उनीहरु गर्भवती हुन्छन् । गर्भावस्थाको ९ महिना एउटी महिलाले अनेक पीडा र कष्ट सहनुपर्छ । प्रसूतीको क्रममा त उनीहरुले अझ बढी दुखाई सहनुपर्ने हुन्छ । महिलाहरुको यो शारीरिक जटिलता र संवेदनशिलतालाई पुरुष खासगरी उनीहरुका श्रीमानले अनुभूत गर्नैपर्छ ।

महिनावरीका क्रममा गरिने लापरवाहीले उनीहरुमा अनेक किसिमको यौन तथा प्रजनन समस्या ल्याउने गर्छ । अज्ञानतावस वा बाध्यत्मक स्थितिले गर्दा माहिनावरीमा उनीहरुले पर्याप्त मात्रामा सरसफाईमा ध्यान दिन सक्दैनन् । त्यसमाथि महिनावरीबारे समाजमा जुन भ्रम छ, त्यसले उनीहरुलाई थप असहज बनाइदिने गरेका छन् ।

महिनावरीको जटिलता 

महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो । समान्यतयाः किसोरी अवस्थामा पुगे पछि महिनावारी शुरु हुन्छ र पहिलो पटक भएको महिनावारीलाई मेनारकी भनिन्छ । महिनावारी शुरु भए देखि नै अधिकाशं महिलाहरु समाजिक रुपले मात्र होईन, शाररिक तथा मानसिक रुपमा पनि पीडित हुने गर्छन् ।

डा. बालकृष्ण शाह

मेनारकी देखि मेनोपोज (महिनावारी सुकेको अवस्था) सम्म अधिकाशं महिलाहरु महिनावारीको समयमा दुखाई सहन बाध्य छन् । महिनावारीको यस्ता पीडाका कारण करिब ९० प्रतिशत बढि महिला चिन्तित हुन्छन् भन्ने अध्ययनहरुले देखाएको छ । महिनावारी एउटा शारिरिक समान्य प्रक्रिया भए पनि यस प्रक्रियामा विभिन्न किसिमका गडबडी आउने गर्छन् ।

महिनावारी समयमा नहुने, धेरै दिन वा धेरै हुने, रगतका चोक्टाहरु जाने, यस समयमा अत्याधिक दुखाई हुने मात्र होईन, कसैकसैलाई महिनावारी नभएर पनि पीडा हुने गर्छन । अधिकंश किशोरीमा महिनावारी समयमा नहुने, कम रगत जाने, तथा अत्याधिक दुखाई हुने समस्या बढि हुने गरेको पाईन्छ भने उमेर पुगेको महिलाहरुमा धेरै रगत जाने वा धेरै दिन सम्म रगत जाने समस्या बढि हुने गरेको पाईन्छ ।

महिनावरीबारे अन्धविश्वास र जनचेतना 

विश्वमा लगभग ८० करोड भन्दा बढि महिला तथा किसोरीको महिनावारी अर्थात रजस्वाला भईरहेको छ । औसत महिनावारी ५ दिनको हुने भएकाले पाँचौ महिना मे र औसत महिनावारी २८ दिनमा हुने भएकाले २८ तारिक अर्थात मे २८ मा अन्तर्राष्ट्रिय महिनावारी सरसफाई तथा स्वास्थ्य दिवस (मेन्सुरेसन हाईजिन डे) विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ ।

महिनावारी सम्बन्धमा रहेका समाजिक अवधारण, कुरिती तथा त्यसले गर्दा महिलाहरुले भोग्नु परेको पीडा, शैक्षित तथा आर्थिक अवसरहरुको कमीहरुलाई कम गर्दै महिला सशक्तिकरण गर्न यस दिवसले योगदान गर्ने विश्वास लिइएको छ ।

आजको अवस्थामा पनि हाम्रो समाजमा छाउपडी अनि यस्ता अनेकन अन्धविश्वास विद्यामान छन् । यसले महिलाहरुको मानसिकरुपमा नै कमजोर गर्ने मनोविज्ञहरुको तर्क छ । महिनावारीका कारण स्कुल÷कलेज तथा काममा बाधा आउने त छँदैछ महिनावारीको समयमा पनि सरसफाईका लागि पानी, साबुन, तथा स्थानको राम्रो ब्यवस्था अधिकाश शैक्षिक संस्था तथा काम गर्ने कम्पनी, उद्योगहरुमा नहुने गरेको पाईन्छ ।

लेखक मोरङ सहकारी अस्पतालका प्रसूती तथा स्त्री रोग विशेषज्ञ हुन्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *