Sajhamanch Archive

घर–आँगनमा रोपौ, औषधिय गुणले भरिपूर्ण यी वनस्पति

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by .

हाम्रो घर-आँगन वा आसपासमा त्यस्ता अनेक वनस्पति छन्, जो औषधिय गुणले भरिपूर्ण छन् । त्यस्ता वनस्पतिलाई हामी दैनिक खानेकुरामा समावेश गर्न सक्छौं वा आवश्यक्ता परेको बखत सेवन गर्न सक्छौं । जस्तो कि, पुदिना, घिउकुमारी, तुलसी, बोझो, पाखनबेद । यसबाहेक हामीले पहिचान गर्न नसकेका थुप्रै वनस्पति औषधिय महत्वका छन् । यस्ता वनस्पतिलाई घरकै आसपास वा आफुले सहजै प्रयोग गर्ने स्थानमा रोप्न र संरक्षित गर्न सकिन्छ । यसो गर्नाले प्रत्यक्षत केही लाभ मिल्छ ।

एक, आफुले दैनिक खानेकुरामा समावेश गरिन्छ, जसले शरीरलाई रोग निरोधक बनाउन सहयोग गर्छ ।

दुई, औषधिय मूल्यका वनस्पतिको संरक्षण हुन्छ ।

तीन, आफ्ना सन्तती वा भावी पुस्ताले समेत यसको गुण सहजै थाह पाउनेछन् ।

चार, कुनै शारीरिक समस्या परेको बखत सहजै उपलब्ध हुनेछ ।

यसरी घर आसपासमा के कस्ता औषधिय वनस्पति रोप्न सकिन्छ त ?

बोझो

बोझो एक प्रकारको बनस्पती हो । यसको जरालाई हामी बोझो भन्छौ । पात चुप्पी जस्तै वा ग्लाडिओल्स प्रजातिका फूल जस्तै हुन्छ । आर्युवेदमा यसको खास महत्व छ ।

यो ओसिलो स्थानमा फस्टाउँछ । सिमसार त बोझोको लागि अनुकुल स्थान नै भयो । कति ठाउँमा यो आफै उम्रन्छ । कतिपय ठाउँमा भने आफैले रोप्नुपर्छ । बोझो रोपेको एक बर्षपछि प्रयोग गर्न मिल्छ । यसको जराबाट बोट फैलन्छ । एक पटक राम्ररी फस्टाएको बोझो अक्सर मासिएर जाँदैन ।

बोझोको जरा वा भनौ कान्डलाई उखेलेर पखाल्ने । त्यसलाई टुक्रा बनाएर त्यतिकै चपाउन सकिन्छ । लामो समय राखेर खानका लागि चाहि टुक्रा बनाएर सुकाउन सकिन्छ । यसरी सुकाएको बोझोलाई सिसाको बोत्तलमा राखेर आवश्यक्ता अनुसार प्रयोग गर्न सकिन्छ ।

बोझोको फाइदा अनेकौ छन् । घाँटी दुखेको निको पार्नदेखि भोक जगाउन समेत बोझो उपयोगी हुन्छ । यो पिनासको समस्यामा पनि लाभदायक हुने बताइन्छ । आर्युवेदविज्ञहरुका अनुसार बोझोले स्नायु प्रणालीमा प्रभाव पार्छ ।

पुदिना

पुदिना खासगरी पेटको समस्यामा उपयोगी मानिन्छ । त्यस्तै रगत शुद्धिकरणमा पनि यसले सघाउ पु¥याउँछ । पुदिना हामी औषधीको रुपमा पनि प्रयोग गर्छौ । यो बगैंचा, गमला जहाँ पनि रोप्न सकिन्छ ।

यसलाई हामी सलाददेखि अचारसम्ममा प्रयोग गर्न सक्छौ । यसलाई सलादमा सजाएर सर्भ गर्न सकिन्छ, अचार बनाएर खान सकिन्छ । जुसमा यसको फ्लेवर राख्न सकिन्छ । यसको वास्ना र स्वाद दुबै स्वादिलो हुन्छ । त्यससँगै यसको औषधिय महत्व पनि छ । निम्न शारीरिक समस्यामा पुदिनाको सेवन लाभदायक हुन्छ ।

पेट खराब भएमा वा पेट फुुलेमा पुदिनाको सेवन गर्नाले तुरुन्तै आराम मिल्छ । छातीमा कफ जम्दा वा बाडुली लाग्दा  पुदिनाको पत्तालाई तातो पानीमा हालेर खानाले पनि शरीरमा लाभ हुन्छ । महिनावारी गड्बडी हुदाँ पुदिनाको चिया बनाएर सेवन गर्नाले पनि लाभ मिल्छ । पखालामा पुदिना, प्याज वा कागतीको रस पिउनाले पनि लाभ मिल्छ । पाचन शक्ति बढाउँछ । मुख गन्हाउने समस्या भएकाहरुलाई माउथ फ्रेस्नरको काम गर्छ ।

घिउकुमारी

घिउकुमारी अति उपयोग वनस्पति हो । औषधिय गुणको घिउकुमारी आर्युवेदमा पनि प्रयोग हुन्छ । यो स्वास्थ्य र सौन्दर्य दुबैमा प्रयोग गर्न सकिन्छ । राम्रो कुरा त के भने, घिउकुमारी घर, बगैंचामा सजिलै लगाउन सकिन्छ ।

भनिन्छ, घिउकुमारीले रातको समयमा अक्जिन प्रवाह गर्छ । यसले गर्दा हाम्रो आसपासमा घिउकुमारी छ भने, त्यसले स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्छ ।

यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन् । यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरु पाउन सकिन्छ । यसको काँडायुक्त पातहरुलाई काटेर पेस्ट निकाली विहान खाली पेटमा ३–४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ ।

टाउको दुख्ने, मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन घिउकुमारी लाभदायक हुन्छ । यसले रगतको कमीलाई हटाँउछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाँउछ । यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाँउछ ।

आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा घिउकुमारी लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।

तुलसी

सामान्य घाँटी दुखेको निको बनाउनेदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउनेसम्ममा तुलसी उपायोगी मानिन्छ । के पनि सुनिन्छ, भने तुलसीले दूषित वायुमण्डललाई शुद्धिकरण गर्छ । त्यसैले घरको झ्याल छेउमा तुलसीको बिरुवा लगाउनु उत्तम हुन्छ भनिन्छ ।

हुन त हामीले तुलसीलाई घर–आँगनमा मठ बनाएर रोप्ने गरेका छौ । तुलसी आफैमा सर्वगुणी भएकाले यसको संरक्षण आवश्यक छ । अर्कोतिर, यसको साइनो स्वास्थ्यसँग जोडिएकाले सफा र सहज ठाउँमा हुनुपर्छ । घरको आँगनमा तुलसी रोप्दा त्यसको प्रयोगमा त सहज हुन्छ नै, घरको वातावरण राम्रो बनाउँछ ।

तुलसीको एक,दुई पात नियमित रुपमा सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्छ । चिसो वा रुँघा ज्वरोले सताएको बेला तुलसीको पातमा अदुवाको केहि टुक्रा मिसाएर उमाल्नुपर्छ । त्यसलाई सेवन गर्दा रुँघा ज्वरो ठिक हुन्छ । यस्ता थुप्रै उपचार विधी छ तुलसीसँग जोडिएको ।

तुलसीको पत्ताको तेलमा यूजीनोल, मिथाइल यूजेनल र क्यारियोफिलिन पाइन्छ, जसबाट पेन्क्रियाटिक बीटा सेल्सले राम्ररी काम गर्छ । यसको कारणले शरीरमा इन्सुलिनको मात्रा कायम रहन्छ र ब्लड सुगर पनि ठिक रहन्छ । यसले मधुमेह हुनबाट रोक्छ । तुलसीमा एन्टी अक्सिडेन्ट र एन्टी कार्सिनोजेनिक गुण पाइन्छ । जसले स्तन क्यान्सर र मुखको क्यान्सर बढ्नबाट रोक्छ ।  सासको दुर्गन्ध हटाउन पनि तुलसीको पत्ता सहयोगी हुन्छ ।

अरुपनि खोजौं

यसबाहेक पाखनबेद, चमेली लगायतका अनगिन्ती वनस्पति छन्, जसलाई घर आसपासमा रोप्न सकिन्छ । यस्ता वनस्पति खोज्न, पहिचान गर्न र संरक्षण गर्न सकिन्छ ।

 

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *