Sajhamanch Archive

भोलि पित्तथैलीको अपरेशन थियो, आज कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–८ मा शुक्रबार एक जना ३९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीमा संक्रमण पुष्टि भएको हो ।

पित्तथैलीमा पत्थरी देखिएपछि भोलि (शनिबार) उनको अपरेशन गर्ने तयारी अस्पतालले गरेको थियो । अस्पतालले पित्तथैलीको अपरेशन गर्नुअघि पीसीआर परीक्षणका लागि बुधबार स्वाब संकलन गरेको थियो । सोही क्रममा उनमा संक्रमण पुष्टि भएको वडाध्यक्ष केशव बन्जाराले बताए ।

वडाध्यक्ष बन्जाराले भने, ‘शनिबार उनको पित्तथैलीमा भएको पत्थरीको अपरेशन गर्ने तयारी थियो । तर अपरेशन अगाडि अस्पतालले कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको रहेछ । त्यही क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।’

‘यसअघि पनि दुई तीन पटकसम्म उनलाई जन्डिस देखा परेको रहेछ । पछिल्लो समय पित्तथैलीमा समस्या देखिएपछि चेकजाँचका लागि तीनचार पटक उनी अस्पतालमा गएकी रहेछन्,’ वडाध्यक्ष बन्जाराले भने, ‘घरबाट बाहिर ननिस्कने गृहणी महिलामा एक्कासी संक्रमण पुष्टि भएपछि हामी अचम्ममा परेका छौं । स्वास्थ्य परीक्षणका लागि उनी अस्पताल गइरहने भएका कारण अस्पतालबाटै संक्रमण फैलिएको हुन सक्छ ।’

महिलामा संक्रमण पुष्टि भएपछि उनको घरलाई सिल गरिएको वडाध्यक्ष बन्जाराले बताए ।‘संक्रमित महिलासहित घरमा श्रीमान, छोरा–छोरीसहित सात जनाका परिवार रहेछन्,’ उनले भने, ‘संक्रमित महिलालाई अस्पताल पठाइसकेका छौं । परिवारका अन्य ६ जनालाई होम क्वारेन्टिनमा नै बस्ने व्यवस्था मिलाएका छौं । उहाँहरुको पनि भोलि स्वाब संकलन गर्ने तयारी गरेका छौं ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *