Sajhamanch Archive

‘रिसिईबीको कारण छोराको अपहरणपछि हत्या गरियो’

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

सप्तरी । बुधबार साँझदेखि सप्तरीको महादेवा गाउँपालिका–२ अकवरपुरका ४ वर्षीय बालक सुजित यादव हराएको हल्ला गाउँभरी फैलियो । घर नजिकैका गाउँलेहरु मिलेर सुजितलाई खोज्ल थाले ।

राती ९ बजेसम्म सुजित फेला नपरेपछि गाउँलेले स्थानीय प्रहरीलाई खबर गरे । रातभरी सुजितको खोजी गर्दा प्रहरीले पनि भेट्न सकेन । अन्ततः बिहीबार दिउँसो घरबाट २ सय मिटर टाढा रहेको पोखरीमा तैरिरहेको अवस्थामा सुजितको शव फेला पर्यो ।

पोखरीमा तैरिरहेको अवस्थामा मृत फेला परेका सुजितको अपहरणपछि हत्या भएको दावी गर्दै परिवारले घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् । बुधबार राती ८ बजे नजिकैको आफन्तको घरबाट टिभी हेरेर फकिँदै गरेका छोरा (सुजित) बीच बाटोबाटै बेपत्ता भएको आमा रन्जनाको दावी छ ।

बुधबार साझदेखि हराइरहेका बालक सुजित पोखरीमा मृत अवस्थामा फेला परेपछि बुबा सुर्य नारायणले पुरानो रिसिईबीकै कारण गाउँकै एक पक्षले अपहरण गरि छोराको हत्या गरेको आरोप लगाएका छन् ।उनले भने, ‘गत वैशाख २ गते गाउँकै एकपक्ष सँग हाम्रो परिवारको झगडा परेको थियो । सोही रिसिईबीले यस्तो घटना घटाइएको हो । घटनाको निष्पक्ष छानबिन हुनुपर्छ ।’

आमा रन्जनाले पनि पुरानो विवादकै कारण गाउँका एकपक्षले छोराको अपहरण गरी हत्या पश्चात डुबेर मरेको देखाउन पोखरीमा फालेको बताइन् । वैशाखमा आर्थिक लेनदेनको विषयलाई लिएर गाउँका एक पक्षसँग झगडा भएको आमा रन्जनाले भनिन् ।

पोखरीमा मृत फेला परेका बालक सुजितको शव शुक्रबार धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गराई शव आफन्तको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले सुक्ष्म रुपमा घटनाको अनुसन्धान भइरहेको बताए ।

हत्या हो वा डुबेर मृत्यु भएकोबारे पोष्टमार्टमा रिपोर्ट आएपछि मात्रै भन्न सकिने डीएसपी भारतीको भनाइ छ । उनले भने, ‘पोष्टमार्टम रिपोट आउन अझै २ दिन लाग्न सक्छ ।’

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *