Sajhamanch Archive

प्रेम विवाह गरेकालाई बलात्कारको अभियोग

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

झापा । झापाको दमक नगरपालिका वडा नं.२ का गोपाल विश्वकर्मा यति बेला ठुलो संकटमा छन् । भएको २ कठ्ठा ऐलेनी जग्गामा १० धुर बेचिसके, मिस्त्री काम गरेर परिवार चलाउछन् । उनको माइलो छोरा सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकीे वडा नं.१५ वर्षीया राई थरकी युवतीसँग विवाह गरे । बिहे गरेको सातौँ दिन प्रहरीले समुनलाई घरबाटै पक्राउ गर्यो ।

‘घरमा राजीखुसी, बसेका थिए, रमाएकै थिए,’ सुमनका बुबा गोपालले भने, ‘छोराले बलात्कार गरेको भनेर लगे ।’ गोपालका अनुसार फेसबुक मार्फत प्रेममा रहेका उनीहरु केटीले तत्काल बिहे नगरे आत्महत्या गर्ने धम्कीपछि सुमनले बिहे गरेका थिए । तर फसाएर पक्राउ गरे । केटी पक्षले मुद्दा मिलाउने भनेर ३५ हजार समेत लगे । मुद्दा लड्नका ५ लाख रुपैयाँ सक्यो, तर न उनले छोरालाई छुटाउन सके न त बुहारी भन्न नै पाए ।

जिल्ला अदालत झापाले सुमनविरुद्ध जबरर्जस्ती करणी मुद्दामा नौ वर्ष जेल सजाय तोकेको छ । उनी अहिले बाल सुधारगृह विराटनगरमा छन् । अदालतमा युवतीले राजीखुसीमै आएको बताए पनि सुमनलाई ९ वर्ष जेल तोकिएको पनि एक महिना बढी भइसक्यो ।

छोरीले कथित तल्लो जातको युवकसँग बिहे गरेपछि उनको परिवारले इलाका प्रहरी कार्यालय दमकमा बलात्कार मुद्दा दर्ता गराएको थियो । ठूलो जात भन्नेहरु सबै लागेर फसाए, वकिल पनि केटी पक्षमै गए, उनले भने, अदालत र मुद्दाका नाममा मात्रै १० धुर जग्गा सकियो । मुद्दा दर्ता भएपछी छोरो छुट्ने आशामा केटी पक्षले माग गरे अनुसार ३५ हजार रकम पनि उनले केटी पक्षलाई क्षतिपूर्ति वापत दिए ।

तर अहिलेसम्म छुटाउन सकिएन, केटी पक्षले छुटाउने भनेर पैसा पनि लगे, गोपालले भने, न छोरा छुट्यो न सम्पति नै फिर्ता आयो । अदालत र प्रहरीमा कमजोर बयान दिएर मुद्दा कमजोर बनाइदिने वकिलले बताएका थिए । ‘म मुद्दा मिलाइदिहाल्छु नि भने । होला नि त भनेर ३५ हजार दिएँ । बेकार पैसा मात्र गयो,’ गोपालले भने, ‘छोरो रुँदै भन्छ न छुटाउन सकिन्छ ।’

दलित अधिकारर्मी नवराज शंकरले कम उमेरमा विवाह गरे पनि जातकै कारणले युवकलाई फसाउनु कानुनविपरीत भएको बताउँछन् । ‘मुद्दा मिलाउने भनेर रकम पनि बुझ्ने र फसाउने नियत देखिएको छ,’ उनले भने, जातकै कारण एउटा युवा अनाहकमा जेल जीवन बिताउनुपरेको छ ।

स्रोत : नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *