Sajhamanch Archive

झापामा लकडाउनको मोडालिटी तयार गर्न कार्यदल बन्यो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह by .

झापा । जारी लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि झापाका सबै बजार खुलाउन कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति, उद्योग वाणिज्य संघका प्रतिनिधि र व्यवसायीबीच आज भद्रपुरमा छलफल भएको छ ।

जिल्ला समन्वय समिति झापाको सभाहलमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

व्यवसायीले निर्वाधरुपमा सबै व्यवसाय खुल्ला गर्न पाउनुपर्ने माग गरेका छन् । जिल्ला स्तरीय समितिले केन्द्र सरकारको निर्देशनभन्दा विपरित बजार खोल्न नसक्ने जनाएको छ ।

समितिका संयोजक सोमनाथ पोर्तेलले सरकारको निर्देशन कार्यान्वयन गर्दै बजार खोल्न सकिने गरी मोडालिटी तयार गर्न व्यवसायीलाई सुझाव दिएका थिए ।

झापा जिल्लामा बढ्दो कोरोना भाइरस संक्रमण जोखिमले बजार खोलिहाल्ने परिस्थिति नभएको संयोजक पोर्तेलले बताएका थिए । उनले यो बेला सकेसम्म धैर्य गरेर आम नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताए ।

व्यवसायी र वाणिज्य संघका प्रतिनिधिबीच व्यापक छलफल पछि बजार खुलाउन आवश्यक मोडालिटी तयार गर्ने गरी कार्यदल बनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको संयोजकत्वमा बनेको कार्यदलमा जिसस झापाका निमित्त समन्वय अधिकारी गोपाल लिम्बू, बिर्तामोड नगरपालिकाका प्रशासन अधिकृत देवराज कार्की, व्यवसायीका तर्फबाट राजेन्द्र घिमिरे, जीतबहादुर कार्की र कुमार भट्टराई रहेका छन् ।

उनीहरुको कार्यदलले सरकारले तोकेको उद्योग व्यवसाय सञ्चालन गर्न सम्बिधत उद्योगसँग जोडिएका व्यवसायसमेत सञ्चालन गर्ने गरी मोडालिटी तयार गर्ने बुझिएको छ ।

कार्यदलले तीन दिन भित्रमा लकडाउनलाई कसरी व्यवस्थित गर्दै उद्योग धन्दा, व्यापार व्यवसाय सञ्चालन गर्ने भन्ने मोडालिटी तयार गर्ने जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । मोडालिटी अनुमोदन भएपछि झापाका बजार खुल्ला हुने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *