Sajhamanch Archive

कृषि ऋण गाडी र साडीमा जान दिन्नँ : कृषिमन्त्री भुसाल

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकास घनश्याम भुसालले किसानलाई दिइने अनुदान र सहुलियत ऋणको दुरुपयोग हुन नदिने बताएका छन् ।

विगतमा किसानका नाममा विचौलियाहरुले नै अनुदान खाइदिएको भन्दै अब त्यस्तो हुन नदिने बताएका हुन् । प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफलमा उठेका प्रश्नको उत्तर दिँदै उनले कृषि अनुदान र सहुलियत ऋण किसानकै खातामा जाने व्यवस्था गर्ने दावी गरे ।

‘ठट्यौलो भाषामा भन्दा गाडीमा जान्छ साडीमा जान्छ, अन्त अन्त जान्छ त्यो पैसा । तल किसानमा जाँदैन । यसलाई रोकिदिनुपर्छ’ उनले भने । मन्त्री भुसालले आगामी आर्थिक वर्षदेखि मलमा जस्तै बिउमा पनि अनुदान दिन सुरु गरिएकोे बताए ।

राजनीतिकरण हुन दिन्न

मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा राजनीतिकरण हुन नदिने बताए । विगतमा यो कार्यक्रममा अति राजनीतिकरण र गुटकरण हुँदा बिग्रेको भन्दै उनले अब सुधार गर्ने दावी गरे ।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हामीले बिगार्यौ । सबै मिलेर बिगार्यौ । अनावश्यक राजनीतिकरण र गुटकरण गरेर त्यसलाई ध्वस्त पार्यौं’ उनले भने, ‘हाम्रो आफ्नै सबैभन्दा ठूलो प्रोजेक्ट भएकाले त्यसलाई नफाल्ने निर्णय गरेको हो । राम्रो बनाउन लागेका छौं ।’

यो परियोजनामा अब वास्तविक किसानले मात्र अनुदान पाउने मन्त्री भुसालले दावी गरे । ‘अब छुद्र राजनीतिकरण हुदैन । कृषि मन्त्रालयबाट दिने कुरामा कम्तीमा यति विश्वास गर्नुहोस् । यदि कमिसनखोरीकै सत्ता चलेको हो भने अब त्यो कमिसनखोरीको आयु पूरा भयो भनेर हामीले हेर्ने हो’ उनले भने ।

आफू बिग्रिएको स्थिति सुधार गर्न आएको पनि उनको भनाइ छ । ‘सांसदहरु पनि करोडौंमा लागे । त्यस्तो भयो होला भन्नका लागि म संग प्रमाण छैन । केही रेकर्डहरु छैन । मन्त्रालयमा केही छैन । पुराना कागज छैन । रेकर्ड खोज्यो छैन । स्थिति त्यस्तो छ’ उनले भने ।

मन्त्री भुसालले किसानलाई पेन्सन दिनेबारे निर्णय गर्नुपूर्व वास्तविक किसानको तथ्यांक संकलन गर्ने बताए ।

उनले भने, ‘किसान पेन्सन भनेर अब हामीले नारा मात्रै लगाउने होइन । गर्ने हो । तर को किसान हो र होइन भनेर तथ्यांकसमेत हामीले लिएका छैनौं त्यसैले तपाईंले हरेक पटक संसदमा कोर्रा लगाइदिनोस् मलाई, ताकी छिटो भन्दा छिटो हाम्रो मन्त्रालयले किसानको सूचीकरणसम्म गर्न सकोस् ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *