Sajhamanch Archive

पिसिआर परीक्षण नगरी फर्काइए १४३ संक्रमित

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

कपिलस्तु । कोरोनाको केन्द्र बनेको कपिलस्तुमा पिसिआर परीक्षण नगरी कोरोनामुक्त भएको भन्दै आइसोलेसनमा उपचाररत एक सय ४३ जनालाई घर फर्काइएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाअनुरूप पालिकाहरूले आइसोलेसनमा बसेका संक्रमितलाई निको भएको भन्दै घर फर्काउन थालेका हुन् ।

निर्देशिकाअनुसार जिल्लाका नौजना संक्रमितलाई बुटवलस्थित कोरोना विशेष अस्पातलबाट घर फर्काइएको थियो । जिल्लाकै स्थानीय तहहरूले एक सय ३४ संक्रमितलाई घर फर्काएका हुन् । यो निर्देशिका जारी हुनुपूर्व संक्रमितको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि मात्र घर फर्काउने गरिएको थियो । ती रिपोर्ट नेगेटिभ आएका जिल्लाका ४२ जना कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै दोस्रो रिपोर्ट आएपछि दुई सञ्चारकर्मीलाई घर पठाइएको छ । मन्त्रालयको नयाँ निर्देशिका पाँच दिनअघि आएको थियो । त्यसयता गत जेठ २४ देखि जिल्लामा त्यहीनिर्देशिका अनुसार संक्रमितको कोरोना परीक्षणबिना घर पठाउन थालिएको हो । नयाँ निर्देशिकाअनुसार आइसोलेसनमा बसेको १४ दिन पूरा भएको र कोरोनाको कुनै लक्षण नदेखिए सात दिन घर स्वआइसोलनमा बस्नेगरी संक्रमितलाई घर पठाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले जारी गरेको यो निर्देशिकाको चौतर्फी आलोचना भइरहेको छ । यसलाई स्वास्थ्यकर्मीले समेत घातक कदम भन्दै चिन्ता प्रकट गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यशोधरा गाउँपालिकाबाट ६०, महाराजगन्ज नगरपालिकाबाट ५०, कपिलवस्तु नगरपालिका ११ र मायादेबी गाउँपालिकाबाट १३ जनालाई घर फर्काइएको स्वास्थ्य कार्यालयले जनाएको छ । घर फर्काउनुपूर्व प्रशासन कार्यालयले खटाएका चिकित्सकहरूले संक्रमितको स्वास्थ्य अवस्था बुझेको थियो । संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्थासमेत सामान्य भएको भन्दै नया निर्देशिाका अनुसार सात दिन होम आइसोलेसनमा बस्ने गरी घर फर्काइएको स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताए ।

यशोधरा गाउपालिकाको अनिरुद्र पब्लिक उमाविको आइसोलेसनमा दुई हप्ता पूरा गरेका ६३ मध्ये ३८ जनाको स्वाब संकलन गरी दोस्रो पिसिआरका लागि दाङ पठाइएको थियो । गत जेठ २१ गते स्वाब पठाइएकोमा रिपोर्टसमेत आउन बाँकी रहेका बेला ३८ जनालाई समेत नया निर्देशिकाअनुसार घर जान दिइएको गाउपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रसाद दुबेले बताए । ‘गाउँपालिकाले संक्रमितको पिसिआर परीक्षणपछि मात्र घर जान दिने सोच बनाएको थियो तर नया निर्देशिका आएपछि हामीले डाक्टरहरूको सुझावअनुसार घर जान दिएको हौं’ उनले भने । यसरी कोरोना परीक्षणबिना पछि केही समस्या आए यसको जिम्मेवारी कसले लिने भन्ने ठूलो चुनौती रहे पनि आफूहरूले सरकारी निर्णयको कार्यान्वय गरेको उनले बताए ।

महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल कलाम खाँले बिनापरीक्षण यसरी संक्रमितहरूलाई छाडिँदा समुदायमा संक्रमण फैलन सक्ने खतरा रहेको बताए । ‘ क्वारेन्टिन र आइसोलेसन गरी एक महिना त्यत्तिकै बिताएका संक्रमितहरूको पिसिआर परीक्षण गरेर घर फर्काउँदा उचित हुन्थ्यो,’ उनले भने, ‘तर केन्द्र सरकरले नयाँ नियम बनाएपछि हामीले घर जान दिएका हौं ।’ तर यो प्रावधानले समाजमा त्रास फैलिएको उनको भनाइ छ ।

उता अधिकारकर्मी रवि ठाकुरले बिनापरीक्षण संक्रमितलाई घर जान दिनु गलत रहेको बताए । उनले सरकारले जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै यो निर्णयमा पुनर्विचार गर्नुपर्ने माग गरे । कपिलवस्तुमा सोमबार साँझसम्म पाँच सय ५० जना संक्रमति भेटिएका छन् ।

स्रोत : नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *