Sajhamanch Archive

हरायो स्वाब, खुल्ला टहराेमा शव, रोकियो दाहसँस्कार

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परीक्षणका लागि पठाएको स्वाब हराएको छ ।

परीक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी–४ खनकै रातुकाको खुल्ला चौरकाे टहराेमा शव राखिएको छ । शव कुरेर मृतकका आफन्त र स्थानीय बसेका छन् । स्वाब रिपोर्ट हराएपछि अन्तिम दाहसँस्कार नै रोकिएको छ ।

मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाँच गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहबामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिएका छन् ।

भारतबाट आएका उनी विगत १४ दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । घाँटीको शल्यक्रिया गरेका उनलाई श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो ।

लुम्विनी प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि घरमा गएर आराम गराउन भनेर अस्पतालले भनेपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रेखोलामा मृत्यु भएको थियो । मृत्यु भएपछि उनको शव कसरी दाहसँस्कार गर्ने भन्ने बारेमा स्थानीय अन्यौलमा छन् ।

स्वाब परीक्षणको रिपोर्टका आधारमा शवको व्यवस्थापन गर्ने भनेर पठाएको स्वाबको रिपोर्ट चाँडो पठाउन ताकेता गर्दा प्रादेशिक अस्पताल भैरहबामा मृतक ब्यक्तिको नामको स्वाब हराएको खुल्न आएको मृतकका आफन्त प्रकाश खनालले बताए ।

उनले कोरोना महामारीका बेला संकलन गरेर लगिएको स्वाब जिम्मेवार स्वास्थ्य संस्थाले हरायो भन्नु लापरवाहीको पराकाष्टा भएको बताए ।

जिल्ला स्वास्थ्य कार्यलयले पठाएको स्वाब प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहबामा नभेटिएपछि राति मृतक ब्यक्तिको स्वाब निकालेर परीक्षणका लागि पठाई सकिएको छ । उक्त रिपोर्ट नआउँदासम्म शवको दाहसँस्कार अन्यौलमा छ ।

कोरोना संकटका बेला नागरिकलाई सचेत र सुरक्षित राख्ने जिम्मेवारी वहन गर्नुपर्ने स्वास्थ्य संस्था आफैले संकलन गरेर लगिसकेको स्वाब हरायो भन्नु गैरजिम्मेवारको हद भएको स्थानीयको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *