Sajhamanch Archive

भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि झडप, एक जनाको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by .

वीरगञ्ज । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृत्यु हुनेको परिचय खुलिनसकेको बताए । उनले भने, ‘घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् ।’

प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको उनले बताए ।

प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ ।

त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।

बाराका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको  बताए । उनले भने, ‘अहिले थप सुरक्षा अधिकारी त्यहाँ पठाइएको छ, विस्तृत विवरण आउन बाँकी छ ।’

पर्सा गाउँपालिकाका प्रमुख किशुनदेव रायले घटनामा घाइते भएका केही व्यक्ति भारततिर भागेको  बताए । बीओपीमा कार्यरत अधिकारीहरुले भने सशस्त्र प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि भिड आक्रोशमा आएकाले दुर्घटना भएको बताएका छन् ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *