Sajhamanch Archive

नेपाल कोरोना उपचारको तेस्रो चरणमा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । शुक्रबार कोरोना संक्रमितको संख्या ५ हजार नाघेसँगै नेपाल कोरोना उपचारको तेस्रो चरणमा प्रवेश गरेको छ।

स्वास्थ्य मन्त्रालयले यसअघि तय गरेको ‘इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार संक्रमितको संख्या ५ हजार नाघेपछि उपचार विधिको तेस्रो चरणमा प्रवेश गर्ने भनिएको छ।

तेस्रो चरणमा प्रवेश गरेसँगै सामान्य लक्षण भएका संक्रमितलाई समेत होम आइसोलेसनमा राख्न सकिने व्यवस्था छ। यो चरण संक्रमण संख्या ५ हजारदेखि १० हजार पुग्दासम्म लागू हुने भनिएको छ।

यस्तै संक्रमितहरूको उपचारको लागि निजी अस्पतालहरूलाई समेत प्रयोग गर्न सकिने उल्लेख छ। मन्त्रालयले यसअघि नै संक्रमित संख्या बढ्दै गएको अवस्थामा रेस्पोन्स प्लान अनुसार नै अघि बढ्ने जनाएको थियो।

यसअघि पनि दोस्रो चरणको उपचार विधिमा लक्षण नदेखिएका संक्रमितहरूलाई घरमै आइसोलेसनमा राख्न सकिने भनिएको थियो। सोही अनुसार केही अस्पतालले भर्ना भएका संक्रमितहरूलाई पनि डिस्चार्ज गरेका थिए।

साथै क्वारेन्टिनमा संक्रमण देखिएका मानिसलाई त्यही ठाउँमा आइसोलेसन बनाएर राखिएको छ। अब भने उपचारको विधि तेस्रो चरणमा पुगेसँगै ‘इमर्जेन्सी रेस्पोन्स प्लान’मा भनिएअनुसार सामान्य लक्षण देखिए पनि घरमै आइसोलेसनमा राख्न सकिने छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने अहिले नै तेस्रो चरणको उपचारमा जाने बेला नभएको बताएका छन्।

उनले  भने, ‘झन्डै ९ सय व्यक्ति निको भएका छन्। त्यसैले अस्पतालमा अहिले नै बेड अभाव भएको छैन। अस्पतालहरूबाट अभाव भएको कुरा आएपछि तेस्रो चरणको विकल्पमा जान सकिन्छ।’

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *