Sajhamanch Archive

भूमि फिर्ता ल्याउन प्रधानमन्त्रीको वास्तविक परीक्षा अब हुन्छ : डा.बाबुराम भट्टराई

Published: in मिडियाबाट साभार, राजनीति by .

गोरखा । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लिम्यिाधुरासहित अतिक्रमित भूमि फिर्ता ल्याउन चाल्ने कदमबाट प्रधानमन्त्री केपी शर्मा ओलीको मूल्यांकन हुने बताएका छन् ।

लिम्पियाधुरासहितको नेपालको नक्साले संवैधानिक मान्यता पाएपछि अब भूमि व्यवहारमै फिर्ता ल्याउन प्रधानमन्त्रीले चाल्ने कदमबाट उनको मूल्यांकन हुने भट्टराईले बताएका हुन् ।

आज गृहजिल्ला गोरखा पुगेका भट्टराईले भूमि फिर्ता ल्याउन प्रधानमन्त्रीले चाल्ने कदमबाट उनी साँच्चै राष्ट्रप्रेमी हुन् वा राष्ट्रियताको बाहिरी आवरण मात्र बोकेको भन्ने पुष्टि हुने टिप्पणी गरे ।

गुमेको नेपाली भूमि नक्सामा पाए पनि त्यसको उपभोग गर्न पाउने कि नपाउने कुरा महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘नक्सामा हाम्रो भूमि त पायौं तर त्यसमाथि व्यवहारिक भोगाधिकार कायम गर्नुपर्छ भनेका छौं, अब प्रधानमन्त्री कसरी जानुहुन्छ हेर्न बाँकी छ,’ उनले भने ।

आवश्यक प्रमाण जुटाउदै राष्ट्रिय सहमित कायम गराउन सरकारले पहल गर्नुपर्ने भन्दै भट्टराईले प्रधानमन्त्रीको अल्पज्ञान र अहंकारले वातावरण बिगार्न सक्ने टिप्पणी पनि गरे । ‘अहिलेको प्रधानमन्त्री कसैको पनि सल्लाह सुझाव सुन्नुहुन्न,’ भट्टराईले भने, ‘अल्पज्ञान र अहंकारको समिश्रणले गर्दा उहाँ आफूलाई सच्चिन पनि दिदैन र अहंकार प्रदर्शन गरेर बन्न लागेको वातावरण पनि बिगार्नुहुन्छ ।’

राजनीतिक र कुटनीतिक पहलबाट अतिक्रमित भूमि फिर्ता ल्याउनुको विकल्प नरहेको भन्दै भट्टराईले भारतसँग वार्ताका लागि प्रधानमन्त्री अग्रसर हुनुपर्ने बताए । ‘एक त फौजी ढंगले बल प्रयोग गरी भारतीय सेना हटाएर आफ्नो भोगाधिकार कायम गर्ने भन्ने हुन्छ, त्यो अलि उपयुक्त हुदैन, कुटनीतिक वार्ताबाटै पहल गर्ने हो त्यसका लागि नेपाल सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’

जनता समाजवादी पार्टीका नेता भट्टराईले मधेशी मूलका नेपालीलाई शंकाको दृष्टिले हेर्दा राष्ट्रिय एकता कमजोर भएको पनि तर्क गरे ।

‘विभिन्न जातजाति र समुदायलाई राष्ट्रियताको अलग अलग मापदण्ड लगाएर आरोपित गर्ने प्रवृत्तिले हामी आफैलाई कमजोर बनाउँदै ल्याएको छ,’ उनले भने, ‘हिमाल, पहाड र तराई जोडेर आन्तरिक राष्ट्रियता बलियो नबनाएसम्म बाह्य राष्ट्रिय घाउ मेटाउन गाह्रो हुन्छ ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *