Sajhamanch Archive

झापामा यसरी मौलाउँदैछ देह व्यापार

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

झापा । चार महिना अघि बिर्तामोडको एक होटलबाट पक्राउ परेकी एक युवतीले भर्खरै जिल्ला कारागार झापामा बच्चा जन्माइन । उनि २० वर्षिया अविवाहित महिला हुन् ।

बिर्तामोड प्रहरीले यौन धन्दामा संलग्न भएकी भन्दै उनलाई पक्राउ गरि सामाजिक अपराध ऐन अन्तरगत मुद्वा चलाएको थियो । गत चैतमा पक्राउ परेकी उनले जिल्ला अदालतमा पाँच हजार रुपैयाँ बुझाउन नसकेर कारागार चलान भएकी थिइन् ।

जिल्ला कारागार झापामा कैदी जीवन विताई रहेकी उनले भद्रपुर स्थित मेची अञ्चल अस्पतालमा शिशु जन्माएकी थिइन् । कारागार प्रमुख यज्ञराज निरौलाले सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची अञ्चल अस्पतालमा गत बुधवार राति छोरीलाई जन्म दिएकी बताए । आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेकोले अस्पतालबाट दुवै जनालाई कारागारमा लगिएको निरौलाले जानकारी दिए । चार महिनाअघि गर्भवती अवस्थामै उनी कारागारमा थुना परेकी थिइन् ।

उनि त एक प्रतिनिधि पात्र मात्रै हुन् । उनि जस्ता धेरै युवती देह व्यापारमा संलग्न भएको प्रहरीको तथ्याङ्कले पनि पुष्टि गर्छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा मात्रै करिव एक वर्षमा दुई सय जना देह व्यापारमा संलग्न महिलालाई कारवाही गरेको तथ्याङ्क छ । बिर्तामोडका डीएसपी कृष्ण कोइरालाले आठ महिनामा २ सय जना यौन धन्दामा संलग्न भेटिएकालाई पक्राउ गरि कारवाही गरिएको बताए ।

‘विगत जस्तो पुरै खुलमखुला त अहिले छैन’, डीएसपी कोइरालाले भने—‘तर, होटलमा अहिले पनि युवतीहरुको यौन धन्दामा कमि छैन । होटलमा भेटिएका केटीहरु को हो भनेर सञ्चालकलाई सोध्दा वेटर भनेर जवाफ दिने गरेको पाइएको छ ।’ भारत र नेपाल कै विभिन्न ठाउँबाट युवतीहरु बिर्तामोडलगायतका होटलमा यौन धन्दामा लागेका छन् । कोहि चाँहि डेरा लिएर बस्ने फोन गरेपछि होटलमा आउने गरेका महिलाहरुलाई पक्राउ गरिएको कोइरालाले जानकारी दिए ।

‘यौन धन्दामा लागेका प्रायः युवतीहरु सुध्रिएको भेटिएन’, कोइरालाले भने — ‘ एउटै युवतीलाई विभिन्न होटलबाट पाँच पटकसम्म पक्राउ गरि कारवाही गरिएको छ ।’ कानुन फितलो भएकोले सामाजिक अपराध ऐन अन्तरगत मुद्वा चलाए पनि धरौटीमा छोडिने गरेको छ । उक्त ऐन अन्तरगत सामान्य ५ हजारदेखि २२ हजार रुपैयाँ धरौटीमा पक्राउ परेपनि छुट्ने गरेको उनको भनाईछ । उनका अनुसार अहिले त होटलमा आउने युवायुवतीको खवर स्थानीयले नै दिन थालेका छन् ।

होटलमा आउने ग्राहकको निगरानी हामीले भन्दापनि स्थानीयले गर्न थालेपछि विगत भन्दा अहिले झापामा यौन धन्दामा कमि आएको कोइरालाको दावी छ । प्रहरीका अनुसार विशेष गरेर होटलमा आउने ग्राहकको युवतीसँग न उमेर मिल्छ, न जोडी मिल्छ, न भाषा, न रुपरंग श्रीमान—श्रीमति, गल्फेण्ड आदी भनेर फुत्किन खोज्ने भारत तथा नेपालका युवायुवती प्रशस्त भेटिइने गरेको छ ।

केही समययता झापाको दमक, बिर्तामोड, भद्रपुर, मेचीनगर, सुरुङगा जस्ता सहरका होटलबाट प्रहरीले बाक्लै रुपमा जोडीहरु नियन्त्रणमा लिइरहेको छ । उनीहरुलाई नियन्त्रणमा लिनुपर्ने कारणबारे प्रहरीले अघि सार्ने तर्क सधैँ समान हुन्छ– ‘अनैतिक गतिविधिमा संलग्न भएकाले नियन्त्रणमा लिएका हौं ।’ यसरी नियन्त्रणमा लिइएका धेरै जसो भारतीय नागरिक हुने गरेका छन् ।

आपसी समझदारीमा यसरी होटलमा यौन आनन्दमा रमाउने कर्म नैतिक हो कि अनैतिक यो अलग्गै बहसको विषय हुनसक्छ । तर, सीमावर्ती भारतीय क्षेत्रमा मदिराको बेचबिखनमा रोक लागेर कडाई हुन थालेपछि नेपाली बजारमा मदिराको मात्रै होइन, देह कारोबार पनि मौलाएको छ । जसमा सबैभन्दा धेरै भारतीय नागरिक नै संलग्न देखिएको छ । ‘हो, पहिलेभन्दा आठ दश महिनायता होटलबाट जोडीहरु समातिने क्रम उच्च छ’, काँकरभिट्टा प्रहरी प्रमुख डिएसपी टंकप्रसाद भट्टराई भन्छन् ‘भारतीय बजारमा मदिरामा रोक लागेपछि नेपाल आउने, रमाइलो गर्ने अनि देहसुख खोज्नेहरु बढेका छन् । समातिनेमध्ये अधाभन्दा धेरै भारतीय नै हुने गरेका छन् ।’

यद्यपि भारतीय बजारबाट यौन व्यवसायी महिलाहरु भने नआएको प्रहरीको भनाई छ । ‘महिलाको दाँजोमा पुरुषकै संख्या बढी छ’, डिएसपी भट्टराईले थपे ‘उनीहरुलाई सबै व्यवस्थापन नेपाली व्यवसायीले गर्दै आएका छन् ।’ खासगरी झापाको दक्षिणको पूरै सीमा जोडिएको भारतको बिहार राज्यमा मदिरा कारोबारमा कडाई भएको छ । त्यसबेलादेखि नै भारतीय मदिराप्रेमी ग्राहकको गन्तव्य नेपाली बजारहरु बन्न थालेका हुन् । योसँगै देहको कारोबार पनि बढेको प्रहरीको भनाई छ ।

हुन पनि कुनै बेला सुनसान रहने सीमावर्ती क्षेत्रका मदिरा पसल पछिल्लो समय ‘गुल्जार’ हुने गरेका छन् । विहार राज्य सरकारले मदिराको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएपछि त्यसका पारखीहरु सीमावर्ती नेपाली बजार धाउने गरेका छन् । विहारसँग सिमा जोडिएका झापाका भद्रपुर, चन्द्रगढी, बनियानी, पृथ्वीनगर, केचना, पथरियालगायतका होटल र रेष्टुराँमा मदिराप्रेमीको भीड लाग्ने गरेको छ । विहारमा मदिरा प्रतिबन्ध भएपछि मदिराको ‘तिर्खा’ मेट्न नेपाली बजार आउने ग्राहकको संख्या ह्वात्तै बढेको होटल सञ्चालकहरु बताउँछन् । तर, उनीहरु देह कारोबार भएको भने अस्वीकार गर्छन् ।

‘सीमावर्ती सहरमा मदिराप्रेमी पाहुनाको संख्या बढेसँगै नेपाली होटल तथा रेष्टुरेन्ट व्यवसायीको कारोवारमा समेत बृद्घि भएको छ’ झापाका होटल व्यवसायी कर्मा शेर्पा भन्छन् । शेर्पा भन्छन्—‘तर, यसको अर्थ देहकै व्यापार पनि बढ्यो भन्ने होइन । यो अनावश्यक आरोप हो ।’ मदिराप्रेमी भारतीयले ठुल्ठुला र सुविधा सम्पन्नभन्दा पनि सामान्य होटल खोज्ने र त्यस्तोमा आएर खाने अनि जाने मात्रै हुने उनले बताए ।

दैनिक मुश्किलले ५—१० जना ग्राहक पस्ने मदिराका होटलमा अचेल भीडभाड लाग्ने गरेको छ । कहिले त व्यवसायीले सोचे अनुसारको कारोवार नै हुदैन थियो । अहिले भने आम्दानीको दायरा समेत बढेको छ । सीमापारिबाट हरेक दिन मदिराप्रेमीहरु आफ्नो तिर्सना मेट्न सीमावर्ती नेपाली बजारका होटल र रेष्टुरेन्ट तथा क्यासिनोहरुमा छिर्न थालेपछि ग्राहक पर्खेर बस्ने व्यापारीलाई समेत अहिले भ्याई नभ्याई छ । कति होटलले ग्राहकको माग अनुसारको परिकार थेग्नै नसक्नेसमेत बताएका छन् ।

भारतको सिलिगुडी, सिक्किम, दार्जिलिङ, कालेङपोङ, नक्सलवाडी, किसनगञ्ज गलगलिया, ठाकुरगञ्जलगायत टाढा टाढासम्मका ग्राहक मदिरा पिउन भद्रपुर, चन्द्रगढी, बनियानी, पृथ्वीनगर, केचना पथरियालगायतका बजारसँगै काँकरभिट्टा, बिर्तामोड, दमकसम्म धाउने गरेको होटल सञ्चालक शेर्पाले बताए । खुला सीमाना भएकै कारण पनि नजीकै रहेको बंगाल र विहारका मदिरा पारखी नेपालका बजार धाउने गरेको उनको भनाई छ ।

‘हाम्रो विहारमा रक्सी खायो भने पुलिसले मार्छ’ केही दिन अघि काँकरभिट्टको एउटा क्यासिनोमा मदिरासँगै जुवामा रमाइरहेका ठाकुरगञ्जका श्यामदेव पालले भने—‘यतै नेपालतिर आएका बखत खाइयो भने खाइयो विहारमा त नाम समेत लिन पाइदैँन ।’ विहारका सरकारी कर्मचारी उनी भन्छन— ‘दिनभरि काम गरेर थाकेको शरीरलाई आराम दिनपनि साँझमा एक ‘प्याक’ लगाउनै पर्छ ।’ मदिराको अधिक कारोवार भएका ठाउँमा झडप तथा झै झगडाका घटना बढ्ने सम्भावना भएपनि अहिलेसम्म मदिराकै कारण कुनै आपराधिक घटना नभएको झापा प्रहरीको भनाई छ ।

‘नेपाली बजारमा आएर मदिरा सेवन गर्ने ग्राहकको संख्या अहिले ठुलै छ भन्ने सुनेका छौँ’ जिल्ला प्रहरीका एक अधिकृत भन्छन्—‘पारिबाट आएर मदिरा सेवन गरी झै झगडा गरेको हामीलाई न त लिखित, न मौखिक कुनै पनि प्रकारका उजुरी आएका छैनन् ।’ तर, केहि दिन अघि काँकरभिट्टाको एक क्यासिनोबाट टिल्ल मातेर निस्किएका प्रवासी नेपालीले भने स्थानीय चेलीहरुलाई र्दुव्यहार गर्ने कोशिस गरेका थिए । तर, प्रहरीले ठुलो घटना हुनबाट समयमा नै जोगाएको थियो ।

तर, केही समययता झापाको काँकरभिट्टा, धुलाबारी, चारआली, बिर्तामोड, चन्द्रगढी, भद्रपुर, सुरुङ्गा र दमकसहित केहि ठाउँमा खुलेआम यौन धन्दा फस्टाउँदै आएको छ । प्रहरीले ति होटलहरुमा निगरानी गर्न चासो नदिएको जनगुनासो व्यापक बढ्न थालेको छ । प्रहरी र होटलवालाहरुको मिलेमतो छ की भन्ने शंका पनि स्थानीयले गर्न थालेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *