Sajhamanch Archive

स्वास्थ्य मन्त्रालयको प्रक्षेपणः असार अन्तिमसम्म कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाण्डौं । स्वास्थ्य मन्त्रालयले असार अन्तिमसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्न सक्ने प्रक्षेपण गरेको छ । मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा संक्रमितको संख्या धेरै बढ्ने भएकाले त्यहीअनुसारको तयारी थाल्नुपर्ने औँल्याएको छ ।

मन्त्रालयले तयार पार्दै गरेको ‘कोभिड–१९ को महामारी व्यवस्थापनका लागि भौतिक स्रोतको पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शन’ मा ४० हजार संक्रमितमध्ये ८० प्रतिशत अर्थात् ३२ हजार संक्रमितमा कुनै लक्षण र असर नदेखिने भन्दै उनीहरूलाई होम क्वारेन्टाइन वा होम आइसोलेसनमै राखिने उल्लेख छ । त्यस्तै, संक्रमितको १५ प्रतिशत अर्थात् ६ हजारलाई अस्पताल केयर र आइसोलेसन बेड चाहिन सक्ने अनुमान गरिएको छ । ५ प्रतिशत अर्थात् दुई हजारलाई भेन्टिलेटरसहितको सेवा चाहिने आकलन गरेको छ ।
बम

मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने व्यक्तिहरूमध्ये संक्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा व्यवस्थापन गरिनेछ । त्यस्तै, स्थलगत नाकाबाट आउने संक्रमणको लक्षण नभएकालाई होल्डिङ गर्ने तथा सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउने काम सम्बन्धित प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले गर्ने र संक्रमण देखिएका व्यक्तिलाई आइसोलेसनमा व्यवस्थापन गरिनेछ ।

संक्रमणको सामान्य लक्षण नदेखिएको, तर पहिलादेखि नै कुनै दीर्घरोगबाट ग्रसित रहेकालाई स्वास्थ्यकर्मीको निगरानीसहित सामूहिक आइसोलेसनको व्यवस्था स्थानीय तहले गर्ने जनाइएको छ । होम क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका व्यक्तिसँग समन्वय, सम्पर्क गर्न तथा आवश्यक स्वास्थ्य सल्लाह दिने स्वास्थ्यकर्मी व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने, मध्यम र जटिल लक्षण भएका बिरामीको उपचारको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्ने मार्गनिर्देशनमा उल्लेख छ ।

मन्त्रालयले होम क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका व्यक्तिसँग समन्वय, सम्पर्क, आवश्यक स्वास्थ्य सल्लाह प्रदान गर्न संक्रमणको शंकास्पद तथा संक्रमण प्रभावित प्रत्येक वडामा कम्तीमा प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, स्वास्थ्य परिचारिका दुई र एक सहयोगीसहित पाँचजना जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको छ । सामूहिक क्वारेन्टाइनमा दुई सय बेडका लागि प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, स्वास्थ्य परिचारिका दुई र सहयोगी एकसहित पाँचजना, दुई सय एकदेखि पाँच सय बेडसम्मका लागि प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, स्वास्थ्य परिचारिका दुई र सहयोगी एकसहित पाँच, सय बेडका लागि प्यारामेडिक दुई, नर्सिङ स्टाफ दुई, स्वास्थ्य परिचारिका दुई र सहयोगी एकसहित सातजना जनशक्ति आवश्यक पर्ने स्वास्थ्यको अनुमान छ । त्यस्तै, पाँच सय बेडभन्दा माथि प्यारामेडिक तीन, नर्सिङ स्टाफ तीन, स्वास्थ्य परिचारिका दुई र सहयोगी दुईसहित १० जना जनशक्ति आवश्यक रहन्छ ।

सामूहिक आइसोलेसन ५० बेडसम्मका लागि प्यारामेडिक चार, नर्सिङ स्टाफ चार, मेडिकल अफिसर र सहयोगी एकसहित पाँचजना र ५१ देखि एक सय बेडसम्मको आइसोलेसनका लागि प्यारामेडिक दुई, नर्सिङ स्टाफ दुई, स्वास्थ्य परिचारिका दुई र सहयोगी एकसहित सातजना आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । वडाका सामूहिक क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रको आर्थिक, प्रशासनिक र लजिस्टिकका लागि सम्पर्क र समन्वयका लागि स्थानीय तहमै मेडिकल अधिकृत एक, प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, सहयोगी एकसहित चारजना जनशक्ति आवश्यक पर्ने उल्लेख छ ।

प्रदेशले व्यवस्थापन गरेका सामूहिक क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रका लागि सयजना व्यक्तिबराबरको आवश्यक पर्ने जनशक्ति सुपरिवेक्षण गर्न विशेषज्ञ चिकित्सक एक, मेडिकल अधिकृत एक, प्यारामेडिक एक, नर्सिङ स्टाफ दुई, ल्याब टेक्निसियन एक, जनस्वास्थ्य परिचारिका दुई, सहयोगी एक र सरसफाइ कर्मचारी चारसहित १३ जना जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । आर्थिक, प्रशासनिक र लजिस्टिकका लागि सम्पर्क र समन्वयका लागि स्थानीय तहमै मेडिकल अधिकृत एक, प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, सहयोगी एकसहित चारजना जनशक्ति आवश्यक पर्ने उल्लेख छ ।

आगामी १५ असारदेखि दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने तयारी छ । कोरोना संक्रमितको पहिचान गर्नकै लागि परीक्षणको दायरा फराकिलो बनाउन लागिएको हो । आगामी कात्तिकसम्म ६ लाखदेखि १० लाखसम्म मानिसको परीक्षण गर्ने तयारी छ ।

डा जागेश्वर गौतम
प्रवक्ता, स्वास्थ्य मन्त्रालय

नयाँ पत्रिकाबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *