Sajhamanch Archive

एकका लागि एक अभियान अन्तर्राष्ट्रियस्तरमा परिचितः अन्तर्राष्ट्रिय झापाली समाजद्वारा पिसिआर स्थापनाका लागि २५ लाख दिने (भिडियो रिपोर्टसहित)

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, विश्व समाचार, समाज, सहकारी, स्वास्थ्य, by .

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाईमा सञ्चालित एकका लागि एक अभियान स्वदेशमा मात्र होइन विदेशमा बस्ने नेपालीबीचमा पनि चर्चा र चासोको विषय बनेको छ ।

यहाँका दर्जनौं संघ–संस्थाको ऐक्यवद्धता पाएको अभियानलाई विश्वभर छरिएर रहेका झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजले भरोसायोग्य साथ दिएको छ । ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले ल्याब स्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

आज असार ५ गते बिहान अन्तर्राष्ट्रिय झापाली समाजका प्रवक्ता बालहरि राईले प्रेस विज्ञप्ति जारी गरेर हिजोको बैठकबाट गरिएको निर्णयबारे जानकारी गराएका हुन् । अध्यक्ष छत्र सुब्बाको अध्यक्षता तथा संरक्षक दिनेश पोखरेलको विशेष उपस्थितिमा बिहीबार सम्पन्न समाजको कार्यसमिति बैठकको निर्णयानुसार २५ लाख रुपैयाँ प्रदान गरिने भएको हो ।

लकडाउनले श्रम बेच्न नपाउँदा आफ्नो वरिपरीका विपन्न मानिस खान नपाएर भोकै बस्नु परेको यथार्थलाई आत्मसाथ गरी सहारा नेपालका कर्मचारीले सुरु गरेको सेवाकार्य अहिले समुदायमा अभियानका रुपमा रुपान्तरित भएको हो ।

सवा करोडको लागतमा जनस्तरबाट कोरोना संक्रमण परीक्षण प्रयोगशाला स्थापना गर्ने लक्ष्यसम्म पुगेको एकका लागि एक अभियान र सहारा नेपालको साइनो सम्बन्धका बारेमा प्रष्ट पार्दै संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडा भन्छन्, ‘यो त हामी कर्मचारीहरु मिलेर आसपास भोकभोकै रहेका मानिसहरुलाई बचाउन मद्धत गर्न थालिएको प्रयास थियो । कर्मचारीसँगै सञ्चालक समिति, शेयर सदस्यहरु हुँदै समुदायमा विस्तार भयो । सहयोग रकम थपिँदै गएपछि आवश्यकताका अन्य सेवातर्फ अग्रसर भएका हौं ।’

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर प्रदेश १ का ६ वटा जिल्लामा विस्तारित सहारा नेपाल साकोसले संयोजन गरेको अभियानले स्थानीय तहसँगको समन्वयमा करिव १७ सय विपन्न परिवारलाई कम्तीमा १५ दिन पुग्ने खाद्यान्न वितरण गरेको छ । अभियानले विभिन्न क्वारेन्टिनमा आश्रय लिएर बसेका तथा झापाका चोक बजारमा भोकै बस्न बाध्य १० हजार हाराहारी मानिसलाई तयारी खाना पनि खुवाएको थियो ।

सहाराका कर्मचारीहरुले थालनी गरेको सेवाकार्य संस्थाका शेयर सदस्य हुँदै अन्य संघ–संस्था र विदेशमा बस्ने नेपालीसम्म पुगेको हो । जेठ मसान्तसम्ममा ६७४ जना व्यक्ति र ५८ वटा संस्थाबाट अभियानको खातामा ६४ लाख ७८ हजार रुपैयाँ जम्मा भएको अभियान सचिवालयका प्रमुख गोपाल भट्टराई बताउँछन् ।

एकका लागि एक अभियानले जनस्तरबाट कोरोना संक्रमण परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि पछिल्लो प्रयास गरिरहेको छ । यसका लागि अभियानको तर्फबाट १५ लाख रुपैयाँ छुट्याइएको छ । सहकारी अभियानको तर्फबाट २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता आएको छ ।

ल्याव स्थापनाका लागि झन्डै एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । झापाका कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाको पनि साथ रहने जनस्तरबाट स्थापना गरिने पिसिआर ल्याबको सर्वत्र चासो छ । अभियानले सम्पूर्ण झापालीलाई एकताको सूत्रमा बाँधेको सहसंयोजक बिनोद बस्नेतको धारणा छ ।

एकका लागि एक अभियानको ब्यानरमा विपन्न परिवारलाई वितरण गरिएको राहत एवम् पालिकाहरुलाई दिइएको आर्थिक सहयोग राशिमा सहारा नेपालका सेयर सदस्यले पाउने कुनै पनि सुविधा कटौती नभएको अभियानको सचिवालयका प्रमुख गोपाल भट्टराई प्रष्ट पार्छन् । यहाँबाट विपन्नको चुल्हो बाल्न दिइएको सहायताका कारण शेयर सदस्यको लाभांश, ब्याज आम्दानी वा सुविधामा कुनै कटौति हुँदैन ।

‘सामाजिक मनभएका दाताहरुबाट संकलित रकमलाई सहारा नेपालले संयोजन गरेर सेवा प्रवाह गरेको हो, स्वेच्छाले दिएको बाहेक कसैको कुनै आम्दानी कट्टा हुने छैन’ भट्टराई प्रष्ट पार्छन् ।  कोरोनाको कहरले निम्त्याएको विपत्तीमा झापालीले देखाएको एकतालाई जीवन्त राख्न कोरोना परिक्षण प्रयोगशालालाई भविष्यमा जनस्वास्थ्य प्रयोगशाला बनाउन सकियोस् भन्ने हामी सबैको शुभेच्छा एवम् शुभकामना ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *