Sajhamanch Archive

क्वारेन्टिनबाट घर गएका युवकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

काठमाडौं । दार्चुलामा र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मार्मा गाउँपालिका–३ का २१ वर्षीय युवक छन् । गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका अनुसार बिहीबार साँझपख उनको घरमै मृत्यु भएको हो । मृतक युवकको बिहीबार साँझ नै स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको अध्यक्ष धामीले बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रसिंह धामीका अनुसार उनी जेठ ३० गते क्वारेन्टिनबाट घर गएका हुन् । बेंग्लौरबाट जेठ २७ गते गौरीफन्टा नाका हुँदै आएका उनको धनगढी सेती प्रादेशिक अस्पतालमा गरिएको आरडीटी टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।

स्वास्थ्य संयोजक धामीले भने, ‘जेठ २७ गते उनीसहित दुई जना मार्मा आइपुगेका हुन् । एक रात क्वारेन्टिनमा बसेपछि जेठ ३० गते दुवै जनाको पुनः आरडीटी टेस्ट गरेका थियौं । त्यसको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।’

स्वास्थ्य संयोजक धामीका अनुसार क्वारेन्टिनमा बस्ने बेलामा उनमा ज्वरोको कुनै लक्षण थिएन । उनीसँगै बेंग्लौरबाट आएका साथीको भनाइ उदृत गर्दै धामीले भने, ‘चार/पाँच दिनदेखि उनले केही पनि खाएका रहेनछन् । त्यसैले उनमा शारीरिक कमजोरी थियो । त्यसैले घर जानुका साटो थप उपचार गराउन अस्पताल लैजान सल्लाह दिएका थियौं ।’

रिपोर्ट नआउँदै अन्त्येष्टि

गाउँपालिका अध्यक्ष धामीका अनुसार मृतक युवकको अन्त्येष्टि बिहीबार साँझ नै गरिएको छ ।

सुरक्षा सजगता अपनाएर मृतक युवकको अन्त्येष्टि गरिएको अध्यक्ष धामीले दाबी गरे । मृतक युवकको अन्त्येष्टिमा परिवारका सदस्यसहित जम्मा सात जना मात्रै सहभागी भएको र अन्त्येष्टिमा सहभागी सबैलाई होम क्वारेन्टिनमा बस्न भनएिको अध्यक्ष धामीले बताए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *