Sajhamanch Archive

प्रदेश १ का जिल्लामा किरात राईभित्रका मातृभाषाबाट पढाइ हुने

Published: in प्रदेश तह, मिडियाबाट साभार, शिक्षा, समाज by .

विराटनगर । किरात राई यायोक्खाले आगामी वर्षदेखि प्रदेश १ का विद्यालयहरूमा किरात राई भित्रका मातृभाषाहरूको शैक्षिक पठनपाठन गराउने भएको छ। किरात राईहरूको भाषा, कला र परम्परालाई संरक्षण र विकास गर्नका लागि यायोक्खाले विद्यालयमा मातृभाषाको पठनपाठन गराउन लागेको हो।

किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले किरात राई समुदायभित्र बोलिने विभिन्न मातृभाषाहरूको संरक्षण र विकासको लागि हरेक विद्यालय तहमा आगामी वर्षबाट मातृभाषा शिक्षाको थालनी गर्न तीव्ररूपमा पहलकदमी चाल्दै आएको बताए।

‘आफ्नो मातृभाषाको विकास र संरक्षण,सम्वर्द्धन गर्नका लागि आगामी वर्षदेखि प्रदेश १ का विद्यालयहरूमा मातृभाषा शिक्षाको पठनपाठन सुरु हुनेछ,’उनले भने,‘यसका लागि प्रदेश १ का स्थानीय तहका जनप्रतिनिधिहरूसँग मातृभाषा शिक्षासम्बन्धी अन्तर संवाद पनि गरिसकेका छौँ। सबै जनप्रतिनिधिहरू सकारात्मक हुनुहुन्छ।’

उनका अनुसार मुल रुपमा सोलुखुम्बु जिल्लामा खालिङ, थुलुङ, नाछिरिङ, सोताङ र कुलुङ भाषाको शिक्षा सञ्चालन गरिने छ। ओखलढुंगामा बाहिङ, वाम्बुले र जेरुङ भाषाको शिक्षा दिइनेछ। त्यस्तैगरी खोटाङमा चाम्लिङ, कोयी, साम्पाङ, दुमी, तिलुङ, वाम्बुले र पुमा भाषा, भोजपुरमा बान्तावा, दुङ्माली, कुलुङ र बुङ्लावा भाषा र धनकुटामा आठ्पहरिया, बान्तावा, छिन्ताङ, छिलिङ, मुगाली, फाङ्दुवाली र बेलहारा भाषाको पठनपाठन गरिने छ।

त्यस्तैगरी संखुवासभामा याम्फु, लोहोरुङ, मेवाहाङ र कुलुङ भाषाबाट शिक्षा दिइने छ। उनले बाँकी अन्य प्रदेश १ का विभिन्न जिल्लाहरूमा बसोबासको हिसाबले जुन–जुन स्थानीय तहहरूमा जुन मातृभाषाहरूको संलग्नता र सम्भाव्‍यता छ त्यहाँ त्यही मातृभाषाहरूको पठनपाठन सुचारु गराउने तयारी गरिएको बताए।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *