Sajhamanch Archive

प्रथाका प्रणय भाव सम्बन्धी १० मुक्तक !

Published: in समाज, साहित्य, by .

मुक्तक – १

माया फुल्ने चौरस्तामा वन हुँदोरहिछ
उनकै यादमा टोलाउने तन हुँदोरहिछ
कसले देख्ने भित्रभित्रै उर्लिएको भेल
छातीभित्र दुख्ने एउटा मन हुँदोरहिछ !

मुक्तक – २

गाह्रो भयो गोठालालाई लौरी कहाँ गयो
एक्लै रून्छ खर्क आज चौँरी कहाँ गयो
जीवनको बागभरि वसन्त नै झरिसक्यो
फूलको रस चुस्न छोडी मौरी कहाँ गयो ?

मुक्तक – ३

घट्नेभन्दा बढ्ने बढी खाता यस्तो बनोस्
चमकभन्दा दमक धेर गाता यस्तो बनोस्
विश्वास नै हो पिरतीमा भरोसाको आधार
दृष्य मेरो दृष्टि उनको नाता यस्तो बनोस् !

मुक्तक – ४

आँसु झार्ने आँखा एउटा टुट्ने अर्को मन
घाऊ लाग्ने छाती एउटा दुख्ने अर्को मन
उनको मेरो साइनो पनि घाम-छायाँजस्तै
पीडा बोक्ने मुटु एउटा फुट्ने अर्को मन !!

मुक्तक – ५

अलिनो भो खाको गाँस नुन कसले चोर्यो
बेइमानी भो जोवन मेरो धुन कसले चोर्यो
उडिरहेछन् डालीबाट एक-एक गरी खुसी
सुनसान भो मनको बाग जून कसले चोर्यो ?

मुक्तक – ६

दरिलो भए बायाँ पाङ्ग्रो दायाँ उस्तै हुन्छ
जसरी लाग्छ घाम चर्की छायाँ उस्तै हुन्छ
शङ्काले नै टुट्छ हेर जीवनको तार पनि
जति गाढा मनको नाता मायाँ उस्तै हुन्छ !

मुक्तक – ७

रूखमा हेर्यो ठुटे भेट्ना खजुर कसले चोर्यो
कम्मर भाँची नाच भन्छु मजुर कसले चोर्यो
प्रिती फुल्ने उमेर मेरो ओइलाइ झर्ने हो कि
रित्तै भयो मनको मन्दिर गजुर कसले चोर्यो ?

मुक्तक – ८

जुठेल्नोमा जुठो पोखी थाली कहाँ गयो
हलगोरूमा हलो राखी फाली कहाँ गयो
घाँसपात कसिङ्गारले ढाकिसक्यो हजुर
फुलबारीमा फूल छोडी माली कहाँ गयो ?

मुक्तक – ९

नदेखेरै पनि देखुँ तिमीलाई दृष्टि यस्तो होस्
नझरेरै पनि भिजाउ मलाई वृष्टि यस्तो होस्
कुनै शर्त हुन्न प्रे‌मीहरूको प्रेमको एउटै गीत
तिमी डुङ्गा हुनु म त माझी सृष्टि यस्तो होस् !

मुक्तक – १०

दिलको भाषा बुझ्नेले नजर यता लाए हुन्थ्यो
यो सोह्रै बाना इन्द्रेणीले प्रेम गीत गाए हुन्थ्यो
मस्त जवानीमा रङ्गिएर डालीभरि फुलिरहेछ
रसिलो यो फूल खोज्दै भवँरा नि आए हुन्थ्यो !

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *