Sajhamanch Archive

भोजपुरका सांसद किराँती क्वारेन्टाइनमा

Published: in प्रदेश तह, स्वास्थ्य by .

भोजपुर । भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बसेका छन् ।

काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन् ।

सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले जानकारी दिए ।

“म शनिबारबाट गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टिनमा बसेको छु, क्वारेन्टिनमा बसेर त्यहाँ समस्याको विषयमा बुझेर त्यसलाई समाधानमा लागि पनि पहल गरिरहेको छु,” उनले भने ।

मानिसमा पहँचको आधारमा सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको अनिवार्यरुपमा पालन गर्नुपर्नेसमेत किराँतीले बताए ।

उनले भने, “हामीमा पहुँचको आधारमा विभिन्न ढङ्गले सरकारले जारी गरेको नीति नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दो छ, यसले सर्वसाधारण जनता मारमा छन्, नियम सबैको लागि बराबर हुनुपर्छ, त्यसैले म जनताको समस्यालाई नजिकबाट नियाल्दै क्वारेन्टिनमा बसेर सरकारको नियम पालना गर्दैछु ।”

क्वारेन्टिनमा बसेर विभिन्न सुधारात्मक कामसमेत गरेको सांसद किराँतीले बताए । अहिले स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टिनलाई व्यवस्थित बनाउनमा पहल गर्नेसमेत किराँतीको भनाइ छ ।

“काठमाडौँमा परीक्षण गरी सङ्क्रमणमुक्त भएको प्रमाणसहित गृहजिल्ला आए पनि वर्तमान प्रावधानअनुसार म क्वारेन्टिनमा बसेको हुँ, यो सबैले मान्न जरुरी छ, क्वारेन्टिनमा भौतिक दूरी कायम गर्दै स्थानीय सरोकारवाला, जनप्रतिनिधि, सर्वसाधारणसँग संवादसमेत गर्दै आएको छु, यसले पनि मलाई जिल्लाका विभिन्न समस्या बुझ्न सहयोग पुगेको छ,” उनले भने

राजधानीमा रहेर जनतालाई राहत वितरणदेखि लिएर संसद्मा जिल्लाका विभिन्न समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएपश्चात् किराँती जिल्लाको पछिल्लो अवस्था बारे जानकारी लिन गृहजिल्ला आएका हुन् ।

निम्नस्तरका निमुखा मानिस मात्र क्वारेन्टिनमा बस्नुपर्ने जनगुनासो स्थानीयवासीबाट आएपछि त्यसलाई नजिकबाट नियाल्न सहयोग पुगेको उनको भनाइ छ ।

क्वारेन्टिनमा बस्ने क्रममा प्रतीक्षालय, शौचालय निर्माणसँगै क्वारेन्टिन आसपासमा सूचनामूलक सामग्रीसमेत टाँस गरिएको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *