Sajhamanch Archive

बिर्तामोडको बजेट एक अर्ब १५ करोड ४ लाख ८८ हजार

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख पबित्रा महतरा प्रसाईंले पाचौं नगरसभामा आज एक अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँको अनुमानित आय व्ययको बजेट सार्वजनिक गरेकी हुन् ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा सुरु भएको पाँचौं नगरसभामा शिक्षा, स्वास्थ, कृषि तथा मेयर पकेट कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको छ। यो वर्षबाट नगरपालिकाले गर्भवती महिलालार्ई बिर्तामोड र भद्रपुरका अस्पतालसम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी, जेष्ठ नागरिकको घरदैलोमा नै निःशुल्क चेकजाँच, वैदेशिक रोजगारीबाट आएका युवालाई स्वरोजगार बनाउन कर्जा, अनुदान, प्रविधि उपलब्ध गराउने लगायतका कार्यक्रम सार्वजनिक गरेको हो।

‘बालबालिकालाई विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं’ नारा प्रभावकारीरुपमा कार्यान्वयन गर्ने र नगरभित्रका सबै सामुदायिक विद्यालयमा कक्षा ५ सम्म दिवा खाजा वितरण गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ । विपन्नका लागि निःशुल्क स्वास्थ बीमा गर्ने लगायतका विषयलाई नीति तथा कार्यक्रममा जोड दिइएको छ।

यसरी नै कर राजश्व नतिरी ब्यवसाय गरिरहेका पुराना व्यावसायीलाई २०७४ सम्म नवीकरण दस्तुर छुट दिने प्रस्ताव गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ७१ को (१) र (२) मा भएको व्यवस्था अनुरुप स्थानीय राजश्व परामर्श समिति, स्थानीय सरोकारवालाहरु, उद्योग वाणिज्य क्षेत्र तथा करदाताहरु समेतको सुझावका आधारमा राजश्व परिचालन गर्ने गरी आन्तरिक आयको अनुमान गरिएको जनाइएको छ ।

संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान समेतलाई नगरपालिकाको आयको रुपमा पेश गरिएको छ । नगरपालिकाको प्रस्तावित बजेटलाई नीति तथा कार्यक्रमसँग आवद्ध हुने गरी बजेट विनियोजन हुने व्यवस्था मिलाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *