Sajhamanch Archive

राष्ट्रिय रमणीयमा अब इन्टरएक्टिभ प्यालन बोर्डबाट अध्यापन गराइने

Published: (Updated: ) in शिक्षा, समाज by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले इन्टरएक्टिभ प्यालन बोर्डको उद्घाटन गरेको छ ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उक्त प्यानल बोर्ड उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा मन्त्री घिमिरेले आजका विद्यार्थीहरुले प्रविधिको प्रयोग गर्दै ज्ञान सीप हासिल गर्न इच्छुक रहेको बताए । शिक्षा समय सापेक्ष प्रविधिमा जोडिएको बताउँदै मन्त्री घिमिरेले अबको पुस्तालाई प्रविधिसँग जोडिएन भने सदाका लागि असफल हुने जानकारी दिए ।

प्रदेश नं. १ का सबै विद्यालयहरुलाई आगामी १० वर्षमा पेपरलेस बनाउने नीति मुताबिक प्रदेशका सयवटा सामुदायिक विद्यालयहरुमा डिजिटल साक्षरता अभियान शुरु गरि सकिएको समेत मन्त्री घिमिरेको भनाई थियो । शिक्षक र विद्यार्थीहरुले आआफ्नो क्षमता अभिवृद्धि गर्ने क्रममा नौला प्रकारका शैक्षिक सामग्रीहरुको उपयोग गर्दै लैजानमा जोड दिएका थिए ।

त्यस्तै मन्त्री घिमिरेले गुणस्तरीय शिक्षामा सबै नागरिकको समतामूलक र न्यायोचित पहुँच स्थापित गर्न सबै तहका शिक्षालाई प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकताअनुरुप मानव संशाधन विकास गर्ने उद्देश्य राखेको बताउँदैं विद्यालयमा इन्टरनेट सेवा, इ–लाइबे्ररी, भर्चुअल ल्याब, भर्चुअल कक्षाकोठा, आइसिटिसहितको पाठयोजना, शिक्षण सिकाइसँग सम्बन्धित एप्सहरुको विकास गरी प्रयोगमा ल्याइने नीतिगत योजना रहेको समेत जनाए ।

प्रदेश नं. १ का अधिकांश विद्यालयहरु विद्यालय नर्सिङ सेवा शुरु गरेदेखि छात्रा विद्यार्थीहरुलाई अधिकतम सेवा पुगेको पुगेको छ । तर कतिपय विद्यालयहरुले नर्सलाई ७ वटै पिरियड अध्यापन गर्न लगाएको सुन्नमा आएको छ, कृपया त्यस प्रकारको कार्य नगराईदन सम्पूर्ण विद्यालयहरुलाई उनले आग्रह समेत गरेका छन् ।

विद्यालय शिक्षाको शैक्षिक गुणस्तर अभियान अन्तर्गत छनौट भएका विद्यालयहरुलाई अन्तर सरकारी वित्तिय हस्तान्तरण मार्फत स्थानीय तहमा प्रदान गरिएको रकमबाट व्यवस्थापन गरिएको ती शैक्षिक सामग्रीहरु १ नं. प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ५ लाख रुपैंया बराबरको सहयोगमा जडान गरिएको हो ।

यसै अन्तर्गत शिवसताक्षी नगरभरिका ४ वटा सामुदायिक विद्यालयहरु लालपानी मावि, बालनिकुञ्ज मावि, लक्ष्मीनारायण मावि र राष्ट्रिय रमणीय आदर्श माविमा उक्त प्रकारको शैक्षिक सामाग्रीहरु खरीद गरि जडान समेत गरिसकिएको लक्ष्मीनारायण माविका प्रअ खगेन्द्र दाहालले बताए ।

त्यस्तै प्रदेश सरकारले शुरु गरेको विद्यालय शिक्षाको शैक्षिक गुणस्तर अभियान अन्तर्गत नगरकै ४ वटै विद्यालयहरुका शिक्षकहरुलाई कम्प्युटर सम्बन्धी ज्ञान, सीप तथा आमा समूह गठन गरि उनीहरुलाई समेत प्राविधिक ज्ञान दिइएको राष्ट्रिय रमणीय आदर्श माविका प्रअ कालीप्रसाद रिजालले जानकारी दिए ।

अब सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले प्रविधिको प्रयोग गर्दै ज्ञान सीप हासिल गर्न सक्नेछन् । राष्ट्रिय रमणीय प्रविधिको प्रयोगसँगै शिक्षाको गुणस्तर सुधारमा अन्य विद्यालय भन्दा अगाडी देखिएको ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *