Sajhamanch Archive

अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्नुको विकल्प नरहेको उत्तर कोरियाको चेतावनी

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । उत्तर कोरियाले शुक्रबार अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनबाट देखिएको चुनौतीको प्रतिरोध गर्न यही विकल्पमात्रै बाँकी रहेको उसको दाबी छ ।

‘अमेरिकाको आणविक चुनौतीबाट उम्कनका लागि उत्तर कोरिया सरकारले सबै संभव प्रयास अबलम्बन गरेको छ, चाहे वार्तामार्फत होस् वा अन्तर्राष्ट्रिय कानूनअनुसार । तर सबै प्रयास आशारहित रुपमा समाप्त भए,’ राज्य नियन्त्रित सञ्चारमाध्यमबाट शुक्रबार बिहान सार्वजनिक भएको ५ हजार शब्दको लेखमा भनिएको छ, ‘बाँकी रहेको एउटै उपाय हतियारलाई हतियारले चुनौती दिने हो ।’

पछिल्ला साता उत्तर कोरियाले देखाइरहेको आक्रामकतापछि सरकारी सञ्चारमाध्यमबाट यस्तो समस्याग्रस्त भाषासहितको लेख सार्वजनिक भएको हो । यसै महिनाको सुरुवातमा उत्तर कोरियाले लियाईसन कार्यालय हटाउने निर्णय गरेको थियो, दुई वर्षअघि यो कार्यालय दक्षिण कोरियासँग मिलेर उसले स्थापना गरेको थियो । केही समयअघि दुई सातासम्म बेपत्ता भएका किम उन जोङले आफ्नो नियन्त्रण सुनिश्चित गर्नका लागि यस्तो कदम चालेको अनुमान गर्छन् ।

५ हजार शब्दको यो लेखले अमेरिका, दक्षिण कोरिया र उसका सहयोगीहरुले गरेको अन्यायलाई दस्तावेजिकरण गरेको छ, यी सबै देशले कोरियाली युद्धको सुरुवातको ७० औं वर्षगाँठ स्मरण गरेको एक दिनपछि यो लेख सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक भएको हो ।

यस लेखमा विशेषगरी ट्रम्प प्रशासनबारे उल्लेख गरिएको छ, ट्रम्पले २०१७ र २०१८ मा किम जोङ उनसँग शिखर सम्मेलन गर्दै उत्तर कोरियासँग शान्तिवार्ता सम्पन्न गर्ने आशा जगाएका थिए । तर, उत्तर कोरियाविरुद्धको नाकाबन्दी खुकुलो गर्ने विषयमा सहमति नजुट्दा यो प्रयासमा ढिलाई भयो । त्यस्तै, अमरिकी सेनाले गत वर्षको अन्त्य र यसै वर्षको सुरुवातमा दक्षिण कोरियाली सेनासँग अभ्यास गरेपछि उत्तर थप आक्रान्त बन्यो ।

‘कोरियाली राष्ट्रबाहेक यस ग्रहको अन्य कुनै पनि देशले यति लामो समयदेखि आणविक चेतावनीको प्रत्यक्ष पीडा भागेको छैन,’ उत्तर कोरियाली सञ्चारमाध्यमले लेखमा भनेको छ,‘हाम्रा जनताका लागि आवणिक खतरा सैद्धान्तिक अवधारणा होइन, बरु वास्तविक र ठोस अनुभव हो ।’

यसअघि किमकी बहिनी किम यो जोङले दिएको कडा अभिव्यक्तीलाई पनि लेखमा झल्किएको छ । उत्तर कोरियाकी सर्वाधिक शक्तिशाली महिला र आफ्नो दाजुको सर्कलकी सबैभन्दा प्रभावकारी अधिकारी यो जोङले नै लियाइसन कार्यालय हटाउन आदेश दिएकी थिइन्, उनले दक्षिण कोरियालाई शत्रुको संज्ञा दिएकी थिइन् ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *