Sajhamanch Archive

आन्तरिक उडानको तयारी सुरु, यस्तो विशेष निर्देशिका बनाइयो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं  । तीन महिनादेखि व्यवसायिक उडान गर्न नपाएका १० वटा नेपाली वायुसेवा कम्पनीहरू लकडाउनपछि कसरी उडान गर्ने भन्ने तयारीमा जुटेका छन् ।

कोभिड–१९ महामारीको असामान्य परिस्थिति पछि आउने न्यू–नर्मल (सामान्य काल) मा कसरी उडान गर्ने भन्नेबारे विमान तयारीमा जुटेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, सबै नेपाली वायुसेवा कम्पनीले अबका दिन उडानबाट फैलन सक्ने संक्रमण रोकथामका लागि कसरी उडान गर्नेबारे ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्योर– एसओपी (विशेष निर्देशिका) बनाएका छन् ।

‘अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठन (आइकाओ) को निर्देशन अनुसार, पहिले हामीले एसओपी बनायौं,’ विमानस्थलका एक उपनिर्देशकले कान्तिपुरसँग भने, ‘त्यसैअनुसार, वायुसेवा कम्पनीहरूले पनि एसओपी तयार पारिसके ।’

उनका अनुसार, अहिले आन्तरिक उडानमा संलग्न वायुसेवा कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई उक्त एसओपी अनुसार तालिम तथा प्रशिक्षण दिइरहेका छन् ।

‘बुद्ध एयरले सबैभन्दा पहिले एसओपी प्रोटोकल तयार पारेर बुझायो,’ उनले भने, ‘त्यसै अनुसार, उसले सबैभन्दा पहिले एउटा (ड्रिल) अभ्यास पनि गरिसक्यो ।’

मध्य असारदेखि उडान संचालन गर्न तयारी रहेका वायुसेवा कम्पनीहरूलाई सरकारले साउन १७ देखि उडान संचालन गराउन सकिने प्रस्ताव गरेको थियो ।

तर, व्यवसायिक उडान संचालन गराउने मिति अझै टुंग्गो लागिनसकेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । कान्तिपुर दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *