Sajhamanch Archive

प्रदेश १ मा ११ हजार प्रहरी समायोजन भई आउँछन् : मन्त्री कार्की

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by .

विराटनगर । प्रदेश १ मा ११ हजार प्रहरी समायोजन हुने भएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संघीय सरकारसँग ११ हजार प्रहरी समायोजन भएर आउने सैद्धान्तिक सहमति भएको बताएका हुन् ।

संघीय सरकारसँग सैद्धान्तिक सहमतिपछि प्रदेशमा प्रदेश प्रहरी गठनसम्बन्धी विधेयक बनाउने गृहकार्य सुरु भएको उनले बताए ।

संघीय सरकारले प्रहरी समायोजन १५ चैतबाट गर्ने बताए पनि कोरोना महामारी र लकडाउनका कारण रोकिएको बताउँदै मन्त्री कार्कीले चाँडो समायोजन भएर आउने बताए ।

प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयमा प्रदेश १ मा भारतीय सीमामा आउँदो वर्ष थप ५ वटा बोर्डर आउट पोष्ट निर्माण गर्ने र १४ जिल्लामा २–२ वटा प्रहरी चौकी निर्माणको कार्य थालनी गरिने उनले बताए ।

कर्मचारी र पदाधिकारीले भत्ता लिँदैनन् : आङ्बो

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आगामी वर्ष गोष्ठी तथा कार्यक्रम भत्ता कटौती भएकाले कर्मचारी तथा पदाधिकारीले सो भत्ता नलिने बताएका छन ।

मंगलबार प्रदेशसभा बैठकमा प्रदेश विनियोजन विधेयकमाथि उठेको प्रश्नमा जवाफ दिदै उनले यस्तो शीर्षकमा बजेट विनियोजन भएको भए पनि खर्च नहुने बताएका हुन् ।

प्रदेशको रातो किताबमा भत्ता तथा कार्यक्रमका लागि बजेट विनियोजन भएको देखिन्छ । ‘कार्यक्रम र भत्ता शीर्षकमा बजेट छुट्टिए पनि खर्च हुँदैन’ उनले भने ‘कोरोना महामारीपछि कार्यक्रम गर्न पाइन्छ भन्ने मनसायले राखेको रहेछ भने पनि यस्तो बजेट सरकारको प्राथमिकताको क्षेत्रमा खर्च हुन्छ ।’

सरकारले आफ्नो क्षमता अनुसार खर्च गर्न सक्नेगरी बजेट ल्याएको मन्त्री आङ्बोले बताए । ‘ऋण काढेर घिउ नखाने गरी कार्यक्रम बनाउने सोच्यौं’ उनले भने ‘ऋण काढेर कार्यक्रम तर्जुमा गर्दा धेरै प्रतिफल दिदैन, अन्त्यमा कार्यक्रम संशोधन गर्न पनि हैरान हुन्छ ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *