Sajhamanch Archive

प्रधानमन्त्रीलाई नेताहरूको सुझाब: ‘ब्लेम गेम र प्रोक्सी वार’ अन्त्य गर्नुस्

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न सुझाव दिएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी  नेकपाका अध्यक्ष ओलीले केही मन्त्री र पार्टीका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका थिए।

‘यो अहिले जुन पार्टीभित्र ब्लेम गेम चलिरहेको छ प्रोक्सी वार चलिरहेको छ यो ब्लेम गेम र प्रोक्सीवारलाई अन्त्य गर्नुपर्यो भन्ने सुझाव हामी सबैले राखेका छौं,’ उनले भने, ‘घटनाक्रमहरू हेर्दा पार्टीको उच्च नेतृत्व तहमा एउटा चरम संकट खासगरी विश्वासको संकट उत्पन्न भएको देखिन्छ त्यस सन्दर्भमा हामीले भन्यौं यसको समाधान पनि तपाईहरुले आपसी संवाद र विमर्शबाहेक अन्यत्र खोज्न सकिँदैन।’ नेताहरुले दुई अध्यक्षको सम्बन्ध हार्दिक हुनुपर्ने सुझाव दिएको भट्टराईले जानकारी दिए।

‘दुईवटा अध्यक्षको बीचमा एउटा राम्रो हार्दिक सम्बन्ध हुनुपर्‍यो । पार्टीको सचिवालयमा राम्रो सम्बन्ध हुनुपर्‍यो। स्थायी कमिटीको बिचमा सम्बन्ध हुनुपर्यो,’ उनले भने, ‘सिंगो केन्द्रीय कमिटी र पार्टी पंङ्तिमा एउटा हार्दिक भावना विकास हुनुपर्यो त्यसका निम्ती पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा तपाईले नै ज्यादा पहलकदमी लिनुपर्‍यो भनेका छौं।’ मन्त्री भट्टराईले स्थायी कमिटीको बैठकलाई केही दिन रोकेर भए पनि सचिवालय बैठकमा छलफल गरी एउटा साझा धारणा बनाएर आउनसमेत सुझाव दिइएको बताए। उनले विभिन्न कालखण्डमा मृत्युलाई जितेर आएका नेताहरुले समस्या हल गर्न नसक्ने र विभाजनतिर जाने हो भने इतिहासले लखेट्ने भएकाले सहमति र एकतालाई सुदृढ बनाएर जान सुझाव दिइएको बताए।

‘यतिधेरै मृत्युलाई जितेर आउने नेताहरुले आजका यी सानातिना समस्याहरूलाई हल गर्न सकिँदैन र हामी विभाजनतिर जान्छौं भन्ने हो भने तपाईंहरुको योग्यतामाथि गम्भीर प्रश्न उठछ,’ उनले भने, ‘तपाईंहरूलाई खाली कार्यकर्ताले मात्रै प्रश्न उठाउँदैन जनताले प्रश्न उठाउँदा इतिहासले प्रश्न उठाउँछ र तपाईंहरुको मृत्युपछि पनि तपाईंहरुको जीवनपछि पनि इतिहासले तपाईहरुलाई लखेटिरहन्छ। यो कदम कुनै पनि हालतमा नेकपालाई शह्‍य हुँदैन।’ मन्त्री भट्टराईले एकपल्ट आ–आफ्नो इतिहास पढेर समाधान निकाल्नतर्फ ध्यान दिनसमेत आग्रह गरिएको जानकारी दिए। हिजोको बैठकमा नेताहरू प्रस्तुत भएअनुसार वरिष्ठ नेताहरुको बीचमा नै आरोप प्रत्यारोप भएको स्पस्ट भइसकेको पनि बताए।

थाहा खबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *