Sajhamanch Archive

कोरोना मृत्युको सन्देश

Published: in साहित्य, by .

यो तथाकथित सान्सारिक समाजका
ए ! सामाजिक बौद्धिक एवं विद्वान मान्छेहरू
मेरा सम्माननीय,माननीय,आदरणीय अनि
प्रिय व्यक्तित्वहरू ।

आऊ मेरो अप्रत्याशित मृत्यु भयो
एक थान सेता लुगा लगाएर आऊ
तिमीलाई अनुदानमा प्राप्त
आवश्यक भीटीएम र किड्स लिएर आऊ
र सङ्कलन गर मेरो सुकिसकेको स्वाब
लैजाउ तिम्रा प्रयोगशालाहरूमा कोरोन्याउन
पुष्टि गर कोरोनिएको
र घोषणा गर कोरोनिएर मेरो निधन भएको
साता दश दिन पछि ।

मैले तिम्रो यो कहालीलाग्दो
स्वर्गीय अनि रमणीय संसारबाटै
दुरी कायम गरिसकेको छु
त्यसैले जान्दिनँ तिम्रो संसारको
व्यक्तिगत दुरी के हो ?
भौतिक दुरी के हो ? र
सामाजिक दुरी के हो ?
मैले तिम्रो माक्स,पन्जा,स्यानिटाइजर
साबुनपानी इत्यादि सबै छोडिसकेँ
त्यसैले तिम्रो सन्सारमा म
भयङ्कर छु
खतरनाक छु
अझै पनि सङ्क्रामक छु ।

पुर्यौ भने यो माटोमा मेरो लास
म खोकिरहने छु अनेकौं फूल भएर
मलाइ जलायौ भने त्यो अग्निमा
म खोक्ने छु आगोको ज्वाला भएर
हाछ्यौँ गर्नेछु कालो धुवाँको मुस्लो भएर
तिमीले बगायौ भने पानीमा मेरो शव
थुकका छिटै छिटा भएर छछल्कने छु
अनगिन्ती नदीका छालहरूमा
अनगिन्ती पानीका फोकाहरूमा
त्यसैले ए ! सामाजिक प्राणी,
ए ! बौद्धिक वर्ग हो
नदेऊ तिम्रो पृथ्वीको
यो एक मुठ्ठी माटो पनि
मलाइ नदेऊ त्यो प्रकृतिको
एक झिल्को आगो पनि
नदेऊ त्यो बगेर जाने सङ्लो नदीको
एक अञ्जुली पानी
जसले मेरो जलिरहेको आत्मालाई
शीतल शान्ति प्रदान गरोस् ।

नआऊ मेरो मलामी कोही पनि
म कोरोनिएर मरेको एक पापी हुँ
बरु तिमी जाऊ तिम्रा रमाइला सहर अनि बस्तीहरूमा
नारा जुलुस गर अनि आन्दोलन गर
तिम्रो प्रिय सरकार जोगाउन अनि
तिम्रो अप्रिय सरकार ढलाउन
तिमीले भनेको ब्याक्तिगत दुरी
तिमीले जानेको भौतिक दुरी अनि
सामाजिक दुरी
कायम गरिराख यसै गरी
हात धोइराख देशी साबुनपानीले
मिचीमिची सँधैभरि ।

आउँछौ होला परलोकमा तिमी पनि
आएछौ भने कुनै दिन ढुक्क भएर आउनू
तिमी सजिलै स्वर्गेमा पर्ने छौ
म एक पापी भएकाले
नरकको बाटो हिँडिरहेको हुनेछु
थाहा छैन कति जुनी अनि योनीसम्म हो
तिम्रो संसारको जस्तै क्वारेन्टाइनमा
आइसोलेशनमा अनि
भेण्टिलेटरहरूमा थुनिइरहेको हुने छु।।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *