Sajhamanch Archive

सरकारको निष्कर्ष : नेपाल भित्रिएका सलह निष्क्रिय

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल भित्रिएका सलह निस्क्रिय अवस्थामा पुगेको सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलले निष्कर्ष निकालेको छ ।

असार १३, १४ र १५ गते नेपाल–भारत सीमा नाकाका चार ठाउँबाट नेपाल प्रवेश गरेका सलहले अब कुनै पनि क्षति नगर्ने अवस्थामा पुगेको कार्यदलको दाबी छ ।

प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँका अनुसार ती तीन दिनमा अनुमानित ७० लाख सलह नेपाल प्रवेश गरेका थिए ।

तिनीहरु अहिले छिन्नभिन्न भएको र केही एकै ठाउँमा मरेको पाइएको उनले बताए । ‘पछिल्लो तीन दिनमा देशका कुनै पनि भागमा सलहले क्षति पुर्‍याएको जानकारी आएको छैन, अब तिनीहरु निष्क्रिय अवस्थामा पुगेको भन्ने अनुमान छ,’ संयोजक हुमागाइँले भने ।

दाङ उपत्यकासम्म पुगेका सलह पूर्वी र पश्चिमी वायुको न्युन चापका कारण केही दिन त्यहीँ रहेका थिए । त्यसपछि उत्तरी भूभागमा उडेका सलह निष्क्रिय र केही मृत भेटिएको हुमागाईले बताए । बागलुङका उत्तरी भूभागमा ठूलो मात्रामा सलह मृत भेटिएको जानकारी कार्यदललाई आएको छ ।

यस्तै देशैभरका विभिन्न जिल्लामा स–सानो संख्यामा सलह रहेको जानकारी आएको तर तिनीहरु क्षति गर्ने अवस्थामा नभएको उनको भनाइ छ । दाङबाट गुल्मी, प्युठान, बागलुङतर्फ उडेका सलह थोरै मात्रामा जंगलमा रहेको र एउटा झुण्ड बागलुङमा मृत अवस्थामा पाइएको पनि उनले जानकारी दिए ।

पूर्वी र मध्य तराइबाट भित्रिएको सलह पूर्वीय वायुको चापले पश्चिमतर्फ धकेलिए पनि सुदूरपश्चिम प्रदेशसम्म भने नपुगेको प्राविधिक कार्यदलले जनाएको छ । दाङ भन्दा पछाडिका जिल्ला भएर कर्णाली तथा सुदूरपश्चिममा क्षति गराउने गरी सलहको ठूलो झुण्ड नगएको कार्यदलको दावी छ ।

भारतबाट नेपाल प्रवेश गरेजस्तै सलहका झुण्डहरु नेपालबाट भारततर्फ भने नबाहिरिएको कार्यदलले जनाएको छ ।

अब तीन दिन ‘सलह आउँदैन’

नेपालमा अबको तीन दिन सलह आउने सम्भावना न्युन भएको कार्यदलले जनाएको छ ।

प्लान्ट भिलेज तथा संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य कार्यक्रमले गरेको प्रक्षेपणका आधारमा कार्यदलले यस्तो निष्कर्ष निकालेको हो । नेपालबाट नजिक भारतीय भूमिमा रहेको सलह अझै दक्षिणतर्फ अघि बढिरहेको सूचना प्राविधिक कार्यदललाई प्राप्त भएको संयोजक हुमागाइँले बताए ।

भैरहवाबाट करिब ७ सय किलोमिटर दूरीमा रहेको भारतको झाँसी, ओराई क्षेत्रमा सलह रहेको र तिनीहरु अझै दक्षिण हुँदै मध्य प्रदेशतर्फ उडेको जनाइएको छ । तीन दिनका लागि सलह नेपाल भित्रिने आधार नदेखिए पनि भारतको राजस्थानमा कलिलो वयस्‍क सलहको संख्या चार सय गुणाले बढेको र तिनीहरु उड्न सक्ने अवस्थामा रहेकाले जोखिम भने नटरेको हुमागाइँको भनाइ छ ।

सलहका कारण देशभर एक हजार ६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषि बालीमा क्षति गरेको तर मकैमा भएको क्षति गम्भीर नरहेको उनले बताए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *