Sajhamanch Archive

चिया निकासी सुरू

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

इलाम। चिया उत्पादनको प्रमुख क्षेत्र रहेको सूर्योदय नगरपालिकाले चियाका लागि छुट्टै शाखा स्थापना गरेको छ । पछिल्लो समय चियामा समस्या चुलिँदै जाँदा त्यसको समाधानका निम्ति नगरपालिकाले सचिवालय गठन गरेर शाखा स्थापना गरेको हो ।

चिया किसान, उद्योगी र बजारको आ–आफ्नै समस्या झेल्दै आएको चिया क्षेत्रले चिया शाखा र सचिवालय पाएसँगै चियाको समस्या हल हुने अपेक्षा लिइएको छ ।
नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यको संयोजकत्वमा गठन गरिएको सचिवालयमा किसानका प्रतिनिधि, चिया उद्योगीका प्रतिनिधि, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र नगरपालिकाका उद्योग अधिकृत सदस्य सचिव छन् ।

सचिवालयले पहिलो चरणमा हरियो पत्तीको गुणस्तर सुधार, उद्योगहरूको अनुगमन र चिया निरीक्षक राख्ने प्रक्रिया अगाडि बढाएको सचिवालय संयोजक आचार्यले बताए । चिया शाखा स्थापना भएपछि नगरपालिकाका १४ वटै वडामा एक–एक जना गुणस्तर निरीक्षक रहने व्यवस्था हुनेछ । किसानले उत्पादन गरेको चियाको गुणस्तर हेर्ने काम निरीक्षकले गर्नेछ । अहिले नगरपालिकाले निर्धारण गरेको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँ उद्योगहरूले किसानलाई दिन आनाकानी गरेका छन्, आचार्यले भने– चिया शाखा, सचिवालय र गुणस्तर निरीक्षक भएपछि समस्या टुङ्गो लगाउँछौँ भन्ने हाम्रो लक्ष्य छ ।

उनले केही महिनायता चिया भारत निकासी नहुँदा किसान र उद्योगीबीच देखिएको समस्या पनि समाधान हुन थालेको बताए। गत चैतमा बन्दाबन्दी सुरु हुँदैदेखि भारत निकासी रोकिएको चिया निकासी हुन थालेको छ । झापाको काँकडभिट्टा नाका हुँदै निकासी सुरु भएको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले बताए ।

उनले भने, नगरपालिकाको मापदण्ड अनुसारको ४० प्रतिशत हरियो मुना भएको पत्तीको मूल्य प्रतिकिलो ४० रुपियाँ छ, त्यही गुणस्तरअनुसार किसानबाट चिया आयो भने उद्योगहरू दिन तयार छन् । नगरपालिकाले पनि चियाका लागि आगामी आर्थिक वर्षमा १६ करोड रुपियाँभन्दा बढी रकम खर्च गर्नेछ । प्रदेश एक सरकारमार्फत ‘टी टेस्टिङ सेन्टर’का लागि आएको १६ करोड रुपियाँमध्ये साढे १२ करोड टेस्टिङ सेन्टरमा खर्च हुने नगरपालिकाले जनाएको छ । बाँकी चियाको विकास र विस्तारमा खर्च गरिने आर्थिक समिति संयोजक आचार्य बताउछन् ।

नगरपालिकाले चिया उद्योग स्थापनाका लागि सहकारीमार्फत नयाँ कार्यक्रम ल्याएको छ । बैङ्कमार्फत ऋण लिएर उद्योग स्थापना गर्ने सहकारीको ब्याज अनुदान कार्यक्रमका लागि नगरपालिकाले ५० लाख रुपियाँ छुट्याएको जनाइएको छ । जिल्लामै चिया उत्पादनको मुख्य क्षेत्र रहेकाले चियाको मूल्य शृङ्खलालाई दृष्टिगत गर्दै चिया शाखाको स्थापना गरिएको नगरपालिका प्रमुख रणबहादुर राईले बताए ।

                                                                                                        स्रोत : गोरखापत्र दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *