झापाका ७६ सहित प्रदेश १ मा ४ सय १८ गरे आत्महत्या
Published: (Updated: )
by .विराटनगर । कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको अवधिमा प्रदेश १ मा ४ सय १८ जनाले आत्महत्या गरेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क अनुसार चैत ११ गतेदेखि असार १७ गतेसम्म प्रदेश १ का १४ जिल्लामा ४ सय १८ जनाले आत्महत्या गरेका हुन् ।
जसमा २९१ जना पुरुष, १४४ जना महिला, ३४ जना बालिका र २१ जना बालक रहेका छन् । यो अवधिमा आत्महत्या गर्ने धेरै पुरुष देखिएका छन् । त्यस पछि क्रमश महिला, बालिका, बालक रहेका छन् ।
लकडाउनको अवधिमा धेरैले झुण्डिएर आत्महत्या गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार ३७६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यसै गरी विष सेवन गरेर ३४ जनाले आत्महत्या गरेका छन् । साथै हामफालेर ५ जना र औजार प्रयोग गरेर ३ जनाले आत्महत्या गरेका प्रदेश प्रहरीको तथ्याङ्कले देखाउछ ।
कुन जिल्लामा कति ?
प्रदेश १ का १४ जिल्ला मध्ये मोरङमा सबै भन्दा धेरै ७८ जनाले आत्महत्या गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । त्यसै गरी झापामा ७६ जना, सुनसरीमा ५८ जना र इलाममा ३७ जनाले आत्महत्या गरेका छन् ।
त्यस्तै उदयपुरमा २८ जना, खोटाङमा १९ जना र भोजापुरमा १७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा छ । ओखलढुङ्गा, पाँचथर र सोलुखुम्बुमा १६/१६ जनाले लकडाउनको अवधिमा आत्महत्या गरे । साथै तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा १४/१४ जना र धनकुटाका १५ जनाले आत्महत्या गरेका छन् ।
स्रोत : पूर्वेली न्यूज
Comments