Sajhamanch Archive

बिहीबारदेखि मनसुन थप सक्रिय हुने, बाढी पहिरोको जोखिम

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

झापा । भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले बाढीपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले भोलि रातीदेखि मनसुन थप सक्रिय भइ बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । मनसुन सक्रिय भएसँगै देशका धेरैजसो ठाउँमा लगातार पानी पर्नुका साथै तराई र पहाडका केही भूभागमा ठूलो पानी पर्ने उनले बताइन् ।

तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ र २ का तराईका भूभागमा बाढीको जोखिम बढी हुने जनाएको छ । ती क्षेत्रमा पूर्वतयारीमा जुट्न सबैमा आग्रह गरिएको छ ।

यसैबीच आज पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी आज दिउँसो प्रदेश २, ५ र सुदूरपश्चिम प्रदेशमा मेग गर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।

अहिले मेघगर्जनसहित पानी परिरहेको धनुषा, सिरहा, सप्तरी, मोरङ लगायतका ठाउँमा दिउँसो पानी पर्न रोकिने र राती फेरि पानी पर्ने सम्भावना छ । दिउँसो पानी पर्न रोकिए पनि यी ठाउँमा दिनभर घाम लाग्ने सम्भावना भने छैन । राति प्रदेश १, २ वाग्मती, प्रदेश ५ र सुदूपश्चिम प्रदेशमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् बासीले बताइन् ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *