Sajhamanch Archive

ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना संक्रमण

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस (कोभिड–१) बाट संक्रमित भएका छन् ।

सोमबार उच्च ज्वरो आएपछि उनले कोरोना भाइरसको परीक्षण गराएका थिए । मंगलबार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन् ।आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै उनले भने, ‘डराउनुपर्ने कुनै कारण छैन । यही हो जीवन । जीवन यसरी नै चल्छ ।’

राष्ट्रपति बोलसोनारोले यसअघि पनि पटक–पटक कोरोना भाइरसबाट डराउनु नपर्ने बताउँदै आएका छन् । उनले कोरोना भाइरसको संक्रमणलाई सामान्य ज्वरोको पनि संज्ञा दिएका थिए । उनले सामाजिक दूरी राख्नुपर्ने चिकित्सकको सल्लाहलाई पनि पटक–पटक मजाकमा उडाएका छन् । कोरोना संक्रमणका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिल हो । ब्राजिलमा मंगलबार बेलुकासम्म १६ लाख २३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये ब्राजिलमा १० लाख ६२ हजारभन्दा बढी निको भएका छन् ।

आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिँदै उनले आफ्नो स्वास्थ्य अवस्था एकदम ठीक भएको बताए । मास्क फुकालेर पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मेरो अनुहारमा हेर्नुहोस् । म एकदमै ठीक छु । भगवानलाई धन्यवाद । मेरो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद । मेरो आलोचना गर्नेलाई पनि धन्यवाद, मलाई केही आपत्ति छैन । तपाईंले चाहेजति आलोचना गर्नुहोस् ।’उनीसँगै ब्राजिलको मन्त्रिपरिषद्का केही सदस्य र उच्च अधिकारी पनि सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ऐजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *