Sajhamanch Archive

निजी सवारीमा भाडाका यात्रु बोक्न नदिन यातायात व्यवसायीको माग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गराएर रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघले संक्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा यसलाई मौका बनाएर रातो प्लेटका सवारीले यात्रु ओसारिरहेको र यात्रुबाट पनि ठूलो दरको भाडा असुल भइरहेको बताएको छ ।

गृहसचिव महेश्वर न्यौपानेलाई बुझाइएको पत्रमा सार्वजनिक सवारी बन्द गरेर बस्नुपर्दा व्यवसायीलाई ठूलो मार परिरहेको भन्दै यही बेलामा निजी सवारीले भाडाका यात्रु बोक्दा संक्रमण नियन्त्रणका लागि व्यवसायीले गरेको त्याग खेर जाने उल्लेख छ ।

महासचिव सिटौलाले रातो प्लेटबाट कोरोना नसर्ने जसरी कानूनविपरित भाडा उठाएर रातो प्लेटका सवारीले यात्रु बोकिरहेको भन्दै यसलाई नियन्त्रण गर्न माग गरिएको बताए ।

उनले सरकारले दिएको निर्देशनअनुसार यातायात व्यवसायीहरु अनुशासित भएर बसेको अवस्थामा निजी सवारीहरुले यसैलाई मौका बनाएर कमाउधन्दा चलाइरहँदा सरकार मुकदर्शक बनेको आरोप लगाए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *