Sajhamanch Archive

भारतीय मिडियाबारे सरकारले भन्यो : राजनीतिक र कानुनी उपचार खोजिन्छ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने बताएको छ ।

सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताए ।

पत्रकारले उनलाई नेपालका प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारका विषयमा प्रश्न गरेका थिए । भारतीय टिभी च्यानललाई रोक लगाउनुपर्ने आवाज उठिरहेको छ, सरकारले के गर्छ भन्ने प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिए ।

‘सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ । दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भर्त्सना गर्छ । सरकारले मिडियालाई प्रतिवन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको छ । कुटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने हुन्छ ।’

भारतीय टिभीबाट प्रसारित समाचारबारे उनले भने, ‘हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्‍याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गछौं । यसको पछाडि कानूनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन् । राजनीतिक र कानूनी दुवै उपचार खोज्नुपर्ने हुन्छ ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *