Sajhamanch Archive

‘फरार’ राज्यमन्त्री पक्राउ गर्न अदालतको परमादेश पुग्यो प्रहरी कार्यालय

Published: in राष्ट्रिय समाचार by .

जनकपुरधाम । सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका प्रतिवादीलाई अविलम्ब पक्राउ गरी अदालत समक्ष उपस्थित गराउनू भन्ने व्यहोराको उच्च अदालत जनकपुरको परमादेश जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेको छ ।

अदालतले साउन १५ गते परमादेश जारी गरेको भएपनि पत्राचारका क्रममा शुक्रवार परमादेश प्रहरी कार्यालयमा दर्ता भएको हो । हत्याको घटनामा २ नम्बर प्रदेशका राज्यमन्त्री अभिराम शर्मा समेत जोडिएका परमादेश चर्चाको विषय बनेको छ । उच्च अदालतको परमादेश सहितको पत्र महोत्तरी जिल्ला अदालत जलेश्वरले शुक्रवार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार रामानन्द अधिकारीले बताए ।

उच्च अदालत जनकपुरले साउन १५ गते विक हत्याका फरार प्रतिवादीहरूलाई अबिलम्ब पक्राउ गर्न परमादेश जारी गरेको थियो । परमादेशको आदेश सहितको पत्र बिहीवार उच्च अदालतले महोत्तरी जिल्ला अदालतलाई इमेलमार्फत् पठाएको थियो । उच्च अदालत जनकपुरका रजिस्ट्रार मानबहादुर कार्कीले बिहीवार पठाइएको पत्र महोत्तरी जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा औपचारिक रूपमा बुझाइसकेको बताए ।

अदालतको परमादेश अनुसार प्रहरीले फरार रहेका सबै प्रतिवादीहरूलाई तत्कालै पक्राउ गरी महोत्तरी जिल्ला अदालतसमक्ष बुझाउनुपर्ने छ । सशस्त्र प्रहरीको सुरक्षा लिइरहेका प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य कौशलकुमार यादव र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र हत्या घटनाका अभियुक्त हुन् ।

उच्च अदालतका रजिस्ट्रार कार्कीले भने, ‘कानून अनुसार प्रहरीले देख्ने बित्तिकै वा खोजेर भएपनि पक्राउ गर्नुपर्छ । ती पदाधिकारीहरूलाई त झन् प्रहरीले नै सुरक्षा प्रदान गरिरहेको अवस्था छ भने त पत्र पाएलगत्तै उनीहरूलाई पक्राउ गरेर अदालतसमक्ष बुझाउनु पर्ने हो ।’

तर, समाचार तयार पार्दासम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । मधेश आन्दोलनका क्रममा आन्दोलनकारीको कुटाइबाट थमन विकको हत्या भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *