Sajhamanch Archive

एकदिवसीय क्रिकेटमा नेपालको पहिलो जित, पारस र सोमपाल चम्किए

Published: in खेलकुद by .

काठमाडौं । नेपालले दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्डलाई पराजित गरेको छ। नेपाल एक रनले विजयी भएको हो।

नेदरल्यान्डको घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा कप्तान पारस खड्काले अन्तिम ओभरको अन्तिम एक बल बाँकी छदा नेपाललाई जीत दिलाएका हुन्। नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड २१५ रनमा अलआउट भएको थियो।

अन्तिम एक बल बाँकी रहेको र नेदरल्यान्डले एक रन बनाएर खेल बराबरीमा पुर्‍याउन लागेको बेला कप्तान पारसले फ्रेड कालासेनलाई रन आउट गरेका हुन्। खेलको म्यान अफ द म्याच सोमपाल कामी बने। उनले नेपालका लागि सर्वाधिक रन बनाउनुका साथै एक विकेट पनि लिएका थिए। यो जीतसँगै नेपाल र नेदरल्यान्डबीचको दुई खेलको सिरिज बराबरीमा टुंगिएको छ। अन्तिमसम्म जीतका लागि लडेको नेदरल्यान्डका लागि विसली बारेसीले सर्वाधिक ७१ रन बनाएका थिए।

त्यस्तै डानियल ब्राकले ३९ र पिटर सेलारले २१ र बेन कुपरले १९ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ३, ललितसिंह भण्डारीले २ तथा पारस खड्का, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, वसन्त रेग्मीले एक एक विकेट लिएका थिए। नेदरल्यान्ड्सविरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालले २१७ रनको चुनौति दिएको थियो। ४८.५ ओभरमा अलआउट हुँदै नेपालले २१६ रन बनाएको हो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए भने कप्तान पारस खड्काले ५१ रन बनाए। कामीले ४६ बल खेल्दा पाँच चौका र तीन छक्का प्रहार गरेर ६१ रन बनाएका थिए।

त्यस्तै कप्तान पारस खड्काले ६९ बल खेल्दै ६ चौका र दुई छक्काको सहयताले ५१ रन बनाएका थिए। नेपालका लागि आरिफ शेखले १६ रन, ज्ञानेन्द्र मल्ल १३, सुवास खकुरेल १९ रन, सन्दीप लामीछानले ८, अनिल साह ४, दीपेन्द्रसिंह ऐरी १९ र रोहित पौडेलले ६ रन बनाए। ललित भण्डारी ४ रनमा नटआउट रहे। नेदरल्यान्डका फ्रेड कालासेनले ३,मिचेल रिप्पोन र पिटर सेल्लारले दुई दुई विकेट लिएका थिए। नेपालले नेदल्यान्ड्स विरुद्धको पहिलो एकदिवसीय खेलमा ५५ रनले पराजित भएको थियो। पहिलो खेलमा नेपाललाई नेदरल्यान्डले १९० रनको चुनौति दिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *