Sajhamanch Archive

३२ घरमा पाइपलाइनमार्फत् पुर्‍याइयो बायोग्यास

Published: in प्रदेश तह by .

विराटनगर । विराटनगर महानगरपालिका–१४, जतुवामा पाइपलाइनमार्फत् घरघरमा बायोग्यास पुर्‍याइएको छ ।

पहिलो चरणमा स्थानीय ३२ घरले पाइपलाइनमार्फत् आएको बायोग्यासबाट खाना पकाउन सुरु गरेका छन् ।

जतुवास्थित श्रीकृष्ण गौशालाबाट निकालिएको बायोग्यास पाइपलाइनबाट एक किलोमिटर आसपासका क्षेत्रका बासिन्दाको घरघरमा पुर्‍याइएको हो ।

गौशालाका व्यवस्थापक महिचन्द्र यादवले ८५ लाख रुपैयाँ लागतमा ग्यास प्लान्ट, पाइपलाइन र अरु संरचना निर्माणपछि पाइपलाइनबाट ग्यास वितरण गर्न थालिएको बताए ।

प्रत्येक घरमा दुईओटा चुलो र ग्यास प्रयोग गर्न चाहिने सामान न्यूनतम् मूल्यमा गौशालाले नै उपलब्ध गराएको छ ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३०० घनमिटरको प्लान्ट जडान गरिएको छ ।

श्रीकृष्ण गौशाला संस्थाका अध्यक्ष शंकरलाल अग्रवालले अब दोस्रो चरणमा थप १०० घरमा पाइपमार्फत् ग्यास पुर्‍याउने लक्ष्यसहित काम भइरहेको बताए ।

गौशालामा २०५ गाई र बाच्छाबाच्छीबाट दैनिक करिब दुई हजार किलो गोबर निस्कन्छ । त्यही गोबरलाई जम्मा पारेर ग्यासप्लान्टमा राख्ने गरिएको छ ।

यहाँ ग्यास उत्पादन गरी जम्मा गर्ने प्लास्टिकको ठूलो ट्यांकी जडान गरिएको छ । त्यसैबाट उत्पादित बायोग्यास पाइपमार्फत् स्थानीयको घरघरमा वितरण गरिएको हो ।

बायोग्यास खाना पकाउने एलपी ग्यासभन्दा सस्तो पर्ने जनाइएको छ ।

-इमेज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *