Sajhamanch Archive

तालमा डुबेर तीन विद्यार्थी बेपत्ता

Published: in राष्ट्रिय समाचार by .

ओखलढुंगा । गोकियो तालमा डुबेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका तीनजना विद्यार्थी बेपत्ता भएका छन्। खुम्जुङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।

भ्रमणमा गएका विद्यार्थी नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। बेपत्ता हुनेमा खुम्जुङ आधारभूत विद्यालयमा कक्षा ९ मा अध्ययनरत खुम्बु पासाङल्हामु गाउँपालिका–४ का पेम्बादोर्जे शेर्पा, पेम्बानुरु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका– ५ का सुनिल बराइली छन्।

विद्यालयका अन्य ३३ जना विद्यार्थीको समूह शिक्षकसहित भ्रमणमा गएको बताइएको छ। उनीहरु शुक्रबार भ्रमणमा गएका थिए। विद्यार्थी बेपत्ता भएको जानकारी शनिबार बिहान ११ बजेमात्रै आएको प्रहरीले जनाएको छ। स्थानीय नुर्वु शेर्पाले विद्यार्थी डुबेर बेपत्ता भएको जनाकारी गराएका थिए।

विद्यार्थीको खोजी तथा उद्धारका लागि सिम्रिक एयरको हेलिकोप्टर सहित प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रेशमबहादुर पराजुलीले बताए। भ्रमणटोलीसँग छुटेर नुहाउन लागेकाले विद्यार्थी हराएको प्रारम्भिक जानकारी आएको उनको भनाई छ। उनीहरुको खोजी भइरहे पनि शनिबार साँझसम्म फेला नपरेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *