Sajhamanch Archive

लो स्कोरिङ खेलमा इंग्ल्यान्डसँग भारत पराजित

Published: (Updated: ) in खेलकुद, by .

इंग्ल्यान्ड र भारतबीच जारी पाँच खेलको टेस्ट सिरिजको पहिलो खेलमा इंग्ल्यान्ड विजयी भएको छ।

चौथो दिनमै खेल आफ्नो पक्षमा पार्ने क्रममा इंग्ल्यान्डका बलर निर्णायक रहे। इंग्ल्यान्डले भारतलाई १९४ रनको सहज लक्ष्य दिए पनि भारत पराजित भयो। भारतले ५४.२ ओभरमा १६२ रन मात्र जोड्न सक्यो। इंग्ल्यान्डका लागि दोस्रो इनिङमा बेन स्टोक्सले सर्वाधिक चार विकेट लिए। जितसँगै पाँच खेलको टेस्ट सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता बनाएको छ।

पहिलो इनिङमा शतक प्रहार गरेका कप्तान विराट कोहलीले दोस्रो पारीमा पनि अर्धसतक प्रहार गरे। तर त्यो टिमको हार टार्न भने पर्याप्त रहेन। उनले ५१ रन जोडेका थिए। इंग्ल्यान्डका बलरहरु बेन स्टोक्स र स्टुवाट ब्रोडले भारतको मध्य क्रम ध्वस्त पारेका थिए। एक समय पाँच विकेटको क्षतिमा ७८ रनको अवस्थामा रहेको भारतलाई कप्तान कोहली र सातौँ नम्बरमा ब्याटिङ गरेका दिनेश कार्थिकले सम्हालेका थिए। कोहलीले छैटौँ विकेटका लागि ३४ रनको साझेदारी गर्दै टोलीलाई ७८ मा पाँच विकेटको अवस्थाबाट ११२ रनमा पुर्‍याए। कार्थिक आउट भएपछि कोहलीले हार्दिक पान्ड्यासँग सातौँ विकेटका लागि २९ रनको साझेदारी गरे।

तर कोहली पनि आउट भए। भारतको दोस्रो इनिङकै अन्तिम ब्याट्सम्यानका रूपमा पान्ड्या आउट भएका थिए। उनले ६१ बलमा चार चौका प्रहार गरी ३१ रन बनाए। १९४ रन रक्षा गर्ने क्रममा इंग्लिस बलर बेन स्टोक्सले कसिलो तथा घातक बलिङ गरे। उनले राहुल, कोहली, पान्ड्या तथा मोहम्मद सामीको विकेट लिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *