Sajhamanch Archive

कि भ्रष्टाचारी सकियो, कि म सकिएः पूर्वमन्त्री तामाङ

Published: in राजनीति by .

काठमाडौँ । कानुनमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङ्ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले कि भ्रष्टाचारी सकिने कि आफू सकिने समेत बताए ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफूले मन्त्री पद सम्हाल्दा र अहिलेको सम्पत्तिमा खासै फरक नभएको पनि उल्लेख गरे । जम्मा १३० दिन मन्त्री भएका तामाङले तलबभत्ताबाट आएको रकमबाट केही ऋण तिरेको र अन्य खर्च भएकाले जम्मा हुन नपाएको दावी गरेका छन् ।

बैंकमा ४३ हजार ९ सय ६७ रुपयाँ १२ पैसा रहेको र श्रीमती उषाकला राईको नाममा एउटा बैंकमा १ लाख ६६ हजार र अर्को बैंकमा १ लाख २२ हजार रहेको जानकारी दिए । यसअघि मन्त्री हुँदा तामाङले १५ लाख बराबरको शेयर तथा कृषि विकास बैंकसँग ४० लाख र अन्य बैंकसँग ३० लाख ऋण भएको सार्वजनिक गरेका थिए । त्यो यथावत रहेको उनले जानकारी दिए ।

सिन्धुपाञ्चोकबाट प्रतिनिधिसभामा निर्वाचित तामाङले आफूसँग सिन्धुपाल्चोक, सिन्धुकोटमा पाखोबारी र खेत, श्रीमती राईको नाममा मोरङमा ७ कित्ता जग्गा र खोटाङमा पनि केही जग्गा भएको जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीका सांसद रहेका तामाङले भ्रष्टाचार नियन्त्रण आफ्नो एक मात्र लक्ष्य भएको बताएका छन् । पद भन्दा ठूलो मुद्दा भएको भन्दै उनले आफूले मन्त्री पद मात्र छाडेको तर, मुद्दा नछाडेको दाबी गरे ।

आफूले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो सम्पती विवरण सार्वजनिक गर्नुपर्ने बाध्यात्मक कानून तयार भएको भन्दै उनले पास हुने विश्वास व्यक्त गरे । ‘कि भ्रष्टाचारी सकियो कि म सकिएँ’ तामाङले भने, ‘मन्त्रिपरिषदमा पुगेको विधेयक कसले रोक्दो रहेछ, भ्रष्टाचारीको पक्षमा कोको उभिदाँरहेछन्, जनताले हेरिरहनेछन् ।’

राज्यकोषमा जम्मा हुनुपर्ने करिब ६१ अर्ब रकम अदालतको अन्तरिम आदेशको भरमा गुमेको पनि उल्लेख गरे । मन्त्री तामाङले आफू कानूनमन्त्री हुँदा तयार पारेर मन्त्रिपरिषदमा पठाएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण एने, २०५९ र न्याय परिषद ऐन २०७३ को संशोधन विधेयकबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा ४ र न्याय परिषद ऐन, २०७३ को दफा २९ को उपदफा ३ मा गर्न खोजिएको संशोधनले सार्वजनिक पद धारण गरेका र न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने हुन्छ । भ्रष्टाचार नियन्त्रणका लागि गरेको प्रयासविरुद्ध लाग्नेहरुले आफूविरुद्ध षड्यन्त्र गरेको उनको आरोप छ ।

बंलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले कानूनमन्त्रीबाट राजीनामा दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *