Sajhamanch Archive

ताप्लेजुङदेखि दार्चुलासम्मका पाँच सय सीमा स्तम्भ

Published: in मिडियाबाट साभार by .

काठमाडौं। नेपाल–भारत सीमाका करिब पाँच सय स्तम्भ हराएका छन्। नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा–अध्ययनमा यस्तो पाइएको हो।

नापी विभागअन्तर्गत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार यसको विवरण संकलन भइसकेको छ। अद्यावधिक हुन भने बाँकी छ। ‘संख्यामा केही तलमाथि हुन सक्छ’, उनले भने, ‘नदीनालाले सीमा छुट्याएका ठाउँका स्तम्भ भेटिएका छैनन्, जमिनका थोरै मात्र हराएका छन्।

बाढी आउँदा धेरै स्तम्भ बगाएको हुनसक्छ।’ उनका अनुसार कुनै ठाउँमा नियतवश बेपत्ता पारिएको पाइएको छ। कतिपय भत्किएर र बिग्रिएर पनि हराएका छन्। मेची, नारायणी र महाकालीलगायत ५७ नदीले नेपाल–भारतबीच सीमाको काम गरेका छन्। नेपाल–भारत सिमानाको एक हजार ८८० किलोमिटर क्षेत्रमा ६४० किलोमिटर क्षेत्रमा नदीनाला पर्छन्।

सापकोटाका अनुसार सन् २०१४ यता सीमासम्बन्धी प्राविधिक काम गर्न गठित नेपाल–भारत संयुक्त ‘बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)’ गठनपछि दशगजामा रहेका अाठ हजार ५५३ सीमास्तम्भको निरीक्षण गर्दा अाठ हजार ५४ वटा राम्रो अवस्थामा पाइएको छ। एक हजार ३४ नयाँ स्तम्भ निर्माण गरिएका छन्। तीन वर्षका लागि गठन भएको बीडब्लूजीको समय पाँच वर्ष थपिएको छ।

महाशाखाका अनुसार ०७१\७२ देखि ०७४\७५ को अवधिमा गरिएको सर्भेमा ११६ सीमास्तम्भ मात्र दुरुस्त अवस्थामा भेटिएका छन्। एक हजार ५४३ वटाको मर्मतसम्भार गरिएको छ। एउटा मुख्य स्तम्भबाट अर्को स्तम्भको दूरी दुई किलोमिटर छ भने सहायक स्तम्भ आवश्यकताका आधारमा राखिने गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *