Sajhamanch Archive

युवा युवतीमा बढ्दैछ अष्ट्रेलिया मोह

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

भद्रपुर । राहदानी लिन जिल्ला प्रशासन कार्यालय झापामा सिफारिस लिन आउने अधिकांश युवा युवती अष्ट्रेलिया जाने लक्ष्य लिएर आउने गरेका छन् ।

पढाइको बाहनामा सुविधा सम्पन्न देश पस्न चाहने अधिकांश युवा पुस्ता सेवाग्राही बनेर जिल्ला प्रशासनमा राहदानीको सिफारिस लिन आँउदा अष्ट्रेलिया अध्ययन भन्ने गरेका छन् ।

चालु आर्थिक वर्षको साउन अन्तिम सातासम्म दु्रत सेवामा मात्र १५० जनाले सिफारिस लगिसकेको कार्यालयले जनाएको छ । दु्रतसेवा सिफारिस लिएर काठमाण्डौबाट राहदानी बनाई अध्ययनसँगै काम गर्न जाने उनीहरूको भनाई छ । राहदानी बनाउनेमा +२ मा अध्ययन पूरा गरेका विद्यार्थी बढी रहेको प्रशासकीय प्रमुख चुडाराज भट्टराईले बताए । विगतको अवस्थालाई हेर्ने हो भने रोजगारीका लागि उमेर खाएका नागरिकले राहदानी बनाउने गरेका थिए । पछिल्लो समय त्यो घटेर युवा युवतीमा सरेको उनले जनाए ।

सेवाग्राहीलाई हेर्ने वित्तिकै अष्ट्रेलिया कै लागि राहदानी बनाउन आएको प्रमाणित भएको छ । परिवारको साथमा आएका प्रायः विद्यार्थी रहेको उनको भनाई छ । अष्ट्रिेलियमा चिकित्सा अध्ययनको लागि प्रभावकारी भएकोले त्यसतर्फ विद्यार्थीको आकर्षण बढेर गएको हुन सक्ने उनले बताए । खाडी मुलुक वा वैदेशिक रोजगारीमा जान्छु भन्नेको सङ्ख्या कम भएको छ । गतवर्ष भन्दा चालु आ.व को शुरुमा नै अष्ट्रेलिया जान्छु भन्नेको मोह बढेको पाइएको छ ।

युवती स्टाफ नर्स र यूवा अध्ययन गर्दै जागिर खाने उद्देश्यले जान लागेको बताउने गरेका छन् । परिवारसँगै आएकाले कतीपयले भने कुनै प्रतिक्रिया दिन चाहँदैनन् । पछिल्लो समय अष्ट्रिेलिया जानेको ‘फेसन’को रूपमा बढेर आएको स्थानीय बताउने गर्छन् । छिमेकी, आफन्त गएको देखेपछि रहर जागेर आउँदा विदेशिने युवा युवती बढ्न थालेका छन् । बाहिरी आकर्षणले मात्र हुदैन भित्री कती कमाइ हुन्छ भन्ने यथार्थ अहिले सम्म नपाइए पनि लहरमा होडबाजीका रूपमा अष्ट्रेलिया मोह आकाशिँदो छ ।

साथीहरू अष्ट्रेलिया जान लागेको थाहा पाएर आफू पनि राहदानी लिन आएको बताउने गौरीगञ्जका रिदम शर्मा अहिले काम र दामका लागि अष्ट्रेलिया युवाको पहिलो रोजाइ रहेको बताउँछन् । अहिले पढ्दै गरेकोले पछि अष्ट्रिेलिया गएर खर्चको जोहो गर्दै अध्ययन गर्ने उनको भनाइ छ । नागरिकता बनाइरहेको समयमा पनि विदेश मोहका अभिभावकबाट राहदानीको फारम पनि दर्ता गराइरहेको पाइने गरेको छ ।

त्यसैगरी अध्ययनसगै कमाइ गर्ने उद्देश्यले अष्ट्रिेलियाको लागि राहदानीको फारम दर्ता गरेको अनुप गुराँगाई बताउँछन् । नेपालमा बसेर खासै कमाइ नहुने भएकोले बाहिर जान लागेको उनको भनाइ छ । राहदानीको लागि द्रुत सेवाको सिफारिसको चाप उल्लेखीय रहेको द्रुतसेवा फाँटका कर्मचारी बताउँछन्् । अधिकांश १८ देखि २२ वर्षका विद्यार्थी रहेको तथ्यले देखाउने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *