Sajhamanch Archive

युक्रेनी प्रेमजोडी : इजरायलमा मस्ती, नेपालमा जेल !

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं  । विदेशी पर्यटक देखिनासाथ नेपालीले विश्वास गर्ने बानी छ । टुरिस्ट भिसामा नेपाल छिरेका यस्ता मृदुभाषी ठगहरूलाई पत्याउँदा ९ जना नेपालीको विजोग भएको छ ।

उनीहरूको महाविजोग हुनुअघि नै ठगहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । महानगरीय अपराध महाशाखाले यो काम सुरु गरेको हो ।

विदेश मोह रहेका नेपालीको भावनालाई बुझेका युक्रेनी एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो । २६ बर्षिय बिटाली बिल्य र २३ बर्षीया नाटालिया मेल्निचुकलाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा लगाएको छ । नाटालियालाई प्रहरीले युक्रेनकी नागरिक भनिए पनि सामाजिक सञ्जालमा उनले आफ्नो ठेगाना पोल्यान्ड राखेकी छन् ।

यी दुवैले सामाजिक सञ्जाल मार्फत नै ‘पिपुल वर्क ग्रुप’का नाममा नेपालीको रकम संकलन गरी विजोग बनाएको अभियोग लगाइएको छ ।

उदयुपुर बेलगरका २६ बर्षिय बुद्धिराज विष्टसहित ९ जनाले महाशाखामा आफु ठगीएको उजुरी दिएपछि प्रहरीले उनीहरूलाई खोजेको थियो । दुवैले पुतलीसडकस्थित घरमा भाडा लिएर कार्यालय चलाएका थिए ।

टुरिस्ट भिसामा आएका कुनै पनि विदेशीले कार्यालय चलाउने अनुमति हुँदैन ।

दुवैजना २६ अप्रिल २०१८ मा नेपाल प्रवेश गरेका थिए । उनीहरूले सामाजिक सञ्जाल फेसबुक, भाइबरको प्रयोग गरी पोल्यान्डमा सजिलै रोजगारमा जान सकिने, मासिक ९० हजारदेखि १ लाखसम्म तलब हुने, अन्य आकर्षण सुविधा समेत रहेको उल्लेख गरेका थिए ।

त्यसवापत ७ लाख ५० हजार रकम लाग्ने र सुरुमा २ लाख लाग्ने भन्दै दुवैले रकम उठाएका थिए । ‘पीडितबाट एक लाख ८० हजारदेखि २ लाखसम्म रकम उठाएको पाइयो’, महाशाखाले भन्यो,‘६ सय जनालाई उनीहरूले प्रभावित बनाएको देखियो ।’

पक्राउ गरिएकालाई मुलुकी ऐन ठगीको महलअनुसार झुक्याई, विश्वासमा पारी ठगी गरेको कसुरमा विगो भराउँदै ५ बर्षसम्म कैदको सजाय हुनसक्छ ।

यो जोडी भ्रमणको शिलशिलामा नै नेपाल आइपुगेको थियो । अप्रिलमा नेपाल आएको यो जोडीले त्यसअघि मार्चमा इजरायल भ्रमणका क्रममा ‘इन्गेजमेन्ट’ गरेको थियो । नेपाल आएको एक महिनापछि प्रेमी बिटालीले प्रेमिका नाटालियाको जन्मदिन नेपालमा मनाएका थिए ।

सामाजिक सञ्जालमा प्रेमीकासँगको अंकमाल गरेको र गुरासको तस्बिर राख्दै बिटालीले लेखेका छन्,‘मेरो मायाको जन्मदिन, हिमालमा ।’ र यसमा नाटलियाले युक्रेनी भाषामा प्रतिक्रिया दिएकी छन्,‘बिटाली, तिमी संसारकै महान् र राम्रा छौ ।’

लामो समय इजरायलका समुद्री तटमा मस्ती गरेको जोडीले पैसा सकिएपछि नेपालीलाई अन्यत्र पठाउने जुक्ति निकालेको हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरी अहिले पनि अनुसन्धानकै क्रममा रहेका कारण पूरा विवरण खुल्न सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *