Sajhamanch Archive

जग्गा सुख्खा छ ? यसो गर्नुहोस् मज्जाले आम्दानी हुन्छ

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

व्यवसायिक तरकारी खेतिका लागि जमिन कस्तो चाहिन्छ ? तपाई हामीमध्ये कसैलाई यो प्रश्न सोध्ने हो भने धेरैजसोको उत्तर हुन्छ, सिंचाई सुविधा भएको हुनुपर्छ ? हुन पनि सिंचाईको सुविधा पुर्याउन सकिएन भने तरकारी मात्रै होइन कुनै पनि खेति गर्न सम्भव हुँदैन ।

सिंचाई सुविधा नभएको जग्गामा खेति गर्न बर्षाको समय नै पर्खिनुपर्छ, बाह्रैमास तरकारी खेती गर्न सकिन्न । त्यसैले धेरै व्यवसायिक किसानको रोजाईमा सिंचाई सुविधा भएको जमिन नै पर्छ ।

तर अर्घाखाँची सन्धिखर्कका पुष्कर बञ्जाडेको रोजाईमा पर्यो सुक्खा डाँडो । आफ्नै घर वरिपरिको सुक्खा जग्गामा कसरी तरकारी खेती गर्न सकिएला भन्ने उत्सुकताबाट सुरु भएको व्यवसायले आज उनी सफल कृषि उद्यमी बनेका छन् ।

उनको सफलता थाहा पाउन २० बर्ष अगाडि फर्कनुपर्छ । जागिरे जीवनले परिवार धान्न सकिन्न भन्ने लागेपछि उनी नयाँ उपायको खोजी गर्न थाले । आकाशे पानीको भरमा खेती हुने जमिनमा बाह्रै महिना कसरी हरियाली बनाउने ? यस्तै सोच्दै गर्दा उनले काभ्रेमा केहि विदेशी कृषि वैज्ञानिकले आधुनिक खेतीका बारेमा तालिम दिदैछन् भन्ने थाहा पाए । आयोजकलाई सम्पर्क गरेर उनी तालिम लिन काभ्रे पुगे । नेपाली र बिदेशी कृषि वैज्ञानिक प्रशिक्षक रहेको तालिममा मुख्य गरी अर्गानिक खेतीलाई जोड दिईएको थियो । यहि तालिमबाट उनले आकाशे पानीलाई जम्मा गरेर पनि वर्षैभरि तरकारी खेती गर्न सकिन्छ भन्ने थाहा पाए ।

‘मेरो लागि त्यहि तालिम नैं टर्निङ प्वाईन्ट बन्यो, ‘बञ्जाडेले भने, ‘केहि हुन्न भन्ने सुक्खा डाँँडोमा सुन फलाउन सकिन्छ भन्नेमा म विश्वस्त भएँ ।’ तालिममा सहभागी अरु कृषकहरुबाट उनले पाल्पाको मदन पोखरामा आकाशे पानी जम्मा गरेर यसअघिनै खेती सुरु भैसकेको थाहा पाए । अझ मदनपोखरामा आफ्नै आँखाले यो प्रविधि देखेपछि उनी ढुक्क भए ।

बञ्जाडेले ३० रोपनी जग्गामा आधुनिक तरिकाबाट तरकारी खेती सुरु गरे । पाँच रोपनीमा सधैंभरी पानी लाग्छ । २५ रोपनी क्षेत्रमा भने जम्मा गरिएको आकाशे पानीको भर पर्नुपर्छ । पानीको कमी हुन नदिन उनले आकाशे पानी संकलनका लागि एक लाख लिटरको प्लाष्टिक पोखरी, ४० हजार लिटरको सिमेन्ट ट्यांकी र बाथरुम, किचन भएर बग्ने पानीलाई फिल्टर गरी जम्मा गर्न २० हजार लिटरको ट्यांकी बनाएका छन् ।

उनले बिरुवालाई पर्याप्त पानी पुगोस् भनेर पाईपमार्फत सबै बिरुवाको जरा–जरामा पानी पुग्ने व्यबस्था मिलाएका छन् । बञ्जाडेको अनुभवमा सिञ्चित क्षेत्रमा भन्दा आकाशे पानी जम्मा गरेर सिंचाई पु¥याईएको क्षेत्रबाट राम्रो उत्पादन मिलेको छ ।

अहिले उनको फार्ममा काउली, बन्दा, टमाटर, लौका, घिरौंला, करेला, खुर्सानी, बोडी, चिचिण्डो लगायतका तरकारी उत्पादन भइरहेका छन् । अहिले तरकारी उत्पादन र बजारका हिसाबले ‘पिक सिजन’ हो । वैशाखदेखि साउनसम्म उत्पादन भएका तरकारीले राम्रो बजार पाउँछन् । त्यसपछि भने नेपालको तराई र भारतीय बजारबाट तरकारी भित्रने हुँदा बजारमा राम्रो भाउ पाउन प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । उनले आफ्नो फार्मबाट वार्षिक २० लाखको तरकारी उत्पादन हुने र १३ लाख रुपैंया बचत हुने गरेको उनले बताए । फार्ममा ४ जनाले नियमित रोजगारी पाएका छन् ।

फार्मको उपलब्धि सुनेर विभिन्न ठाउँबाट कृषक समूहहरु उनको फार्मसम्म अध्ययन भ्रमणका लागि आउने गरेका छन् । केहिदिन अघिमात्र उदयपुरबाट ४० जना जनप्रतिनिधि र ४० जना अगुवा किसानको समूहले उनको फार्मको अध्ययन भ्रमण गर्यो । फोन मार्फत पनि उनलाई विभिन्न ठाउँबाट आधुनिक प्रविधिमा खेती गर्न चाहने किसानहरुले सम्पर्क गरिरहेका हुन्छन् । आफूले जानेको प्रविधि अरुलाई हस्तान्तरण गर्न पाउँदा आफूलाई खुशी मिल्ने गरेकोे बञ्जाडे बताउँछन् ।

तरकारीमा लाग्ने रोग नियन्त्रण गर्न उनले बजारमा किन्न पाईने बिषादीको प्रयोगलाई निषेध गरेका छन् । घरमैं गाई–भैंसीको मलमुत्र र जडीबुटी प्रयोग गरि आफैंले जैविक औषधि तयार पार्छन् र यसैबाट रोग नियन्त्रण हुन्छ । मलमुत्र जम्मा गर्न ३० हजार लिटरको मुत्र संकलन ट्यांकी बनाएका छन् ।

उनले सुरु गरेको खेतीको प्रभाव वरिपरिका गाउँमा पनि देखिन थालेको छ । विदेश जाने सोच भएका युवाहरु सोच परिवर्तन गरेर कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्न थालेको अनुभव उनी सुनाउँछन् । उनको क्षेत्रमा पढेर जागिरै खानुपर्छ र पैसा कमाउन बिदेश नैं जानुपर्छ भन्ने सोचको अन्त्य भएको छ ।

हाम्रो कथाबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *