Sajhamanch Archive

सुधारिँदै मेची अञ्चल अस्पताल, एक वर्षमा ९२ हजार बढीले सेवा लिए

Published: (Updated: ) in मुख्य समाचार, समाज, by .

मेचीनगर । अनुभवी र ख्याती आर्जन गरेका विशेषज्ञ चिकित्सकको नियमित सेवा ,पछिल्लो समयमा थपिएका विभिन्न उपकरण र जनशक्ति लगायतको प्रबन्धले सेवा सुधारिँदै गएपछि मेची अञ्चल अस्पतालमा विरामीको चाप बढ्दै गएको छ ।

कुनैबेला सरकारी अस्पताल भन्नासाथ नाक खुम्च्याउने सर्वसाधारण नै अहिले अञ्चल अस्पतालको सेवा लिन थालेका छन् ।

‘अघिल्ला वर्षका तुलनामा पछिल्लो समय मेची अञ्चल अस्पताल भद्रपुरमा सेवाग्राहीको आर्कषण बढेको छ’ मेडिकल रेकर्ड अधिकृत मनोजकुमार पोखरेलले भने —‘अहिले अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध छ, स्वास्थ्य वीमाको रेफर सेन्टर पनि हो, शल्यक्रियाको व्यवस्था छ, यसकारण पनि पछिल्लो समय अस्पतालप्रति मानिसको आर्कषण बढेको छ । अस्पतलमा सेवा सुविधा थप भए लगत्तै ओपीडीमा मात्र दैनिक १ सय ५० देखि ३ सयको हाराहारीले उपचार लिने गरेको पोखरेलको भनाई छ ।

उनका अनुसार वितेको आर्थिक वर्ष २०७४÷२०७५ मा मात्र सो अस्पतालमा ५१ हजार ६ सय २५ महिला र ४० हजार ६ सय २० पुरुषगरी कुल ९२ हजार २ सय ७२ जना उपचारका लागि आएका थिए । सो अवधिमा ७ हजार ६ सय ३३ महिला र ८ हजार ६ सय ८१ पुरुष गरी कुल १६ हजार ३ सय १४ जनाले अस्पतालबाट आकस्मिक सेवा लिएका छन् । अस्पतालमा भर्ना भएर उपचार लिएका विरामीको संख्या ७ हजार ६५ रहेको छ ।

अहिले उपचारका लागि अस्पताल पुग्ने जो कोहीले पनि त्यहाँ उपलब्ध हुने सेवा तत्काल पाउने गरेको अस्पतालका प्रमुख डाक्टर पिताम्बर ठाकुर बताउछन् । अस्पतालमा विरामीको चाप बढेपनि सरकारले दिने बजेटमा बृद्धि नभएको डाक्टर ठाकुरको भनाई छ । ‘अस्पतालले सेवा त बढायो’ डाक्टर ठाकुरले भने—‘ नेपाल सरकारले अस्पताललाई दिने बजेटमा भने बृद्धि भएन, विगत पाँचवर्षअघि सम्म जुन वजेट अस्पतालले पाउथ्यो अहिले पनि त्यही मात्र पाउँदै आएको छ ।’

सरकारले पाठेघर (आङ खस्ने) रोगीहरूको निःशुल्क शल्यव्रिmयाका लागि पठाएको बजेट हरेक बर्ष फ्रिज हुँदै आएको थियो । अहिले करिब ३ बर्षपछि अस्पतालमा यो सेवा नियमित सञ्चालनमा आएको छ । बेहोस पार्ने (एनेस्थेसिया) चिकित्सक अभावमा बन्द भएको यो सेवा अस्पतालले चिकित्सकको व्यवस्था गरेपछि नियमित रुपमा सञ्चालन हुन थालेको अस्पतालले जनाएको छ ।

जस्ले गर्दा हरेक वर्ष यहि शीर्षकमा आएको वजेट फ्रिज हुने गरेको भएपनि वितेको आर्थिक वर्ष २०७४÷२०७५ मा ३५ जनाले यो सेवा लिएका कारण रकम खासै फ्रिज नभएको उनको भनाई छ । लामो समयसम्म शल्यक्रिया ठप्प झै भएको यो अस्पतालमा अहिले हाईड्रोशिल, हर्निया, फिस्टुला, सिजरलगायतका शल्याक्रिया हुने गरेको छ । यी सबै सेवा सरकारी अस्पतालमा हुन थालेपछि अस्पतालप्रति सेवाग्राहीको विश्वास बढेको हो ।

कार्यालयको तथ्याङ्क हेर्ने हो भने वितेको आर्थिक वर्ष २०७४÷२०७५ मा १ हजार ७ सय २३ जनाको जटिल र १ हजार ३ सय ९७ जनाको सामान्य शल्यक्रिया भएको छ । अनि १६ हजार ५ सय ६७ जनाले एक्स रे, ११ हजार ९३ जनाले अल्ट्रासाउण्ड भिडियो एक्स रे ६ हजार ५ सय ३४ जनाले इसीजी र १ सय ११ जनाले इण्डोस्कोपी सेवा लिएका छन् ।

बेहोस गर्ने (एनेस्थेसिया) चिकित्सक शल्यक्रिया गर्न नसकेको र अहिले अस्पतालमा बेहोस गर्ने (एनेस्थेसिया) चिकित्सकको व्यवस्था भएपछि करिब ३० लाख रुपैयाँको लागतमा एनेस्थेसिया मेशीन समेत ल्याइएको छ । यो मेशीन अत्याधुनिक हो, यसमा अक्सिजनलगायतको धेरै कुराको व्यवस्था र विरामीको मुखमा पाएप राखेर ५देखि ७ घण्टा विरामीलाई बेहोस गर्न सकिने डाक्टर ठाकुरले बताए ।

एचआइभी संक्रमितहरुलाई मध्यनजर गर्दै २०६९ साल मंसिरदेखि उपचार सेवा सुरु गरेको सीडीफोर उपचार सेवा चार वर्षपछि पुनः सञ्चालनमा आएको छ । मेसिन बिग्रेर थन्किएपछि एचआइभी संक्रमित बिरामीहरु उपचार गराउन धरान विराटनगर जान बाध्य थिए । अहिले त्यसको अन्त्य भएको छ । आइसियू सञ्चालन समेतको उचित व्यवस्था छ ।

अञ्चल अस्पतालमा अहिले दैनिक आधा दर्जनभन्दा बढीको हर्निया, हाईड्रोशिल, फिस्टुला, सिजरलगायतका शल्यक्रिया नै हुने गरेको छ । फिजिसियन, स्त्रीरोग बालरोग , छाला रोग विशेषज्ञहरुको सेवा पनि नियमित भउका कारण अस्पतालप्रतिच जनविश्वास बढ्दै गएको हो । निजी अस्पतालहरुमा नोटको बिटा बोकेर गए मात्रै उपचार हुने तर सरकारीमा थोरै खर्चमै उस्तै उपचार हुने सेवाग्रहीहरु नै बताउँछन् ।

डायालिसीस सेवामा समस्या
मेची अञ्चल अस्पताल भद्रपुरमा मृगौलाका रोगी बढेसँगै डायालिसीस सेवामा समस्या भएको छ । अस्पतालले मृगौलाका रोगीलाई डायालिसीस अर्थात यन्त्रको सहायताले रगत सफा गर्ने सेवा निःशुल्क रुपमा शुरु गरेयता रोगीको संख्या बढेको हो । यो सेवा शुरु गर्नुअघि धेरै समस्या रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर पिताम्बर ठाकुर बताउछन् ।

अस्पतालले मृगौलाका रोगीलाई डायालिसीस यन्त्रको सहायताले रगत सफा गर्ने सेवा निःशुल्करुप दिए वापत स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई दिने पैसा समेत समयमा नआएका कारण थप समस्या व्यहोर्नु परेको छ । अहिलेसम्म अस्पतालमा डायालिसीसका लागि आउने कुल विरामीमध्ये सवैभन्दा बढी झापाका ४२ जना छन् । यसैगरी इलामका ५ र पाचथरका २ जना विरामीले पनि मेची अञ्चल अस्पतालबाट यो सेवा लिएका छन् । अहिलेसम्म अस्पतालमा आउने मृगौलाका कुल ४९ जनाको विरामीको १ हजार ८ सय ३५ पटक डायालिसीस गरेको अस्पतालका मेडिकल रेकर्ड अधिकृत मनोजकुमार पोखरेलले बताए ।

मृगौला रोगीको एकपटक डायालिसीस गरेबापत सरकारले दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराउनुपर्छ । १ हजार ८ सय ३५ पटक डायालिसिस गरे वापतको कुल ४५ लाख ८७ हजार ५सय रुपैयाँ स्वास्थ्य मन्त्रालयले अञ्चल अस्पतालमा पठाउनुपर्ने भएपनि पटक पटक गरी ३२ लाख ३५ हजार रुपैयाँमात्र पठाएको अस्पतालले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *