Sajhamanch Archive

यी मन्त्रीः जो बच्चा जन्माउन साइकल चढेर सरकारी अस्पताल पुगिन्

Published: in राष्ट्रिय समाचार, by .

न्यूजिल्याण्डकी एक मन्त्री सुत्केरी हुन साइकल चढेर अस्पताल पुगेकी छिन् । ४२ हप्ते गर्भवती जूली जेन्टर ग्रीन पार्टीकी सदस्य हुन् ।

कारमा धेरै मानिसहरुका लागि स्थान नभएकाले आफूले साइकलमा यात्रा गर्ने निर्णय लिएको जेन्टरले जानकारी दिइन् । उनले श्रीमानसँगको आफ्नो फोटो इन्टाग्राममा पोष्ट गर्दै लेखिन्, ‘आइतबारको सुन्दर बिहानी ।’

यसै वर्षको जूनमा प्रधानमन्त्री जसिन्डा आर्डर्न विश्वकी दोस्रो यस्तो महिला बनेकी थिइन् जो प्रधानमन्त्री कार्यकालमा रहँदा सुत्केरी भएकी थिइन् । प्रधानमन्त्री जेसिन्दा र जेन्टरले बच्चा जन्माउनका लागि अकल्याण्ड सिटी सरकारी अस्पताल रोजे ।

३८ वर्षीया जेन्टर देशकी उप–यातायात मन्त्री हुन् र साइक्लिङप्रतिको प्रेमका लागि परिचित छिन् ।

जूली जेन्टरले आफ्नो इन्टाग्राम पोष्टमा लेखिन्, ‘हामीलाई शुभकामना दिनुहोस् । म र मेरा श्रीमानले साइकल छान्यौं किनभने कारमा सबैको लागि ठाउँ थिएन । यसैका कारण मेरो मुड निकै राम्रो रह्यो ।’

उनले थपिन्, ‘सायद मैले केही हप्तादेखि नै थपसाइकल चलाउनु पर्दथ्यो । यसो गरेको भए बच्चा जन्माउन सजिलो हुन्थ्यो ।’

अमेरिकामा जन्मिएकी जेन्टरले आफू गर्भवती भएको घोषणा इन्स्टाग्राममार्फत नै गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘हामीले हाम्रो साइकलमा अर्को सिट थप्नुपर्ने बेला आएको छ ।’

जूली जेन्टरले तीन महिना सुत्केरी बिदा लिँदैछिन् । न्यूजिल्याण्डमा सन् १९७० मा पहिलो पटक एक महिला सांसदले आफ्नो कार्यकालमा बच्चा जन्माएकी थिइन् । सन् १९८३ मा अर्की एक महिला नेताले अफिसमा काम गर्दै गर्दा बच्चालाई दुध खुवाएको भन्दै चर्चामा आएकी थिइन् । अष्ट्रेलियाले सन् २०१६ मा आफ्नो नियममा परिवर्तन गरेर महिला नेतालाई हाउस अफ रेप्रिजेन्टेटिभ्समा आफ्नो कामका बेला बच्चालाई दुध चुसाउने अनुमती दिएको थियो । बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *