Sajhamanch Archive

नेताको सम्पत्ति खोज्दै नेकपा

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । नेकपाले आफ्ना केन्द्रीय नेताहरूको सम्पत्ति लगत राख्न सुरु गरेको छ। भदौभित्र चल–चल सम्पत्ति विवरण बुझाउन उसले केन्द्रीय सदस्यहरूलाई सर्कुलर गरेको हो।

निर्वाचित भएको ६० दिनभित्र हरेक केन्द्रीय सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्ने विधानको व्याख्या गर्दै केन्द्रीय कार्यालयले छ पृष्ठ लामो फारम वितरण गरेको छ। एमाले र माओवादी केन्द्रबीच जेठ ३ मा एकता भएपछि नेकपाको ४४१ सदस्यीय केन्द्रीय समिति बनेको छ।

केन्द्रीय समितिका सबै नेतालाई सम्पत्ति विवरण बुझाउन १० दिनअघि सर्कुलर गरेको छ। फारममा घर, जग्गा, नगद, सुनचाँदी, हिरा, जवाहरातदेखि बैंक वित्तीय संस्था तथा सहकारी संस्थामा रहेको चलअचल सम्पत्ति विवरण, धितोपत्र, सेयर वा ऋणपत्रको विवरणदेखि ऋण लिए–दिए–तिरेको विवरणसम्म उल्लेख गर्नुपर्नेछ। त्यस्तै, सवारी साधन (अटोमोबाइलको हकमा मात्र), कृषि तथा पशुधन (घर जग्गाबाहेक)को विवरणदेखि अन्य कुनै सम्पत्ति भए त्यसको विवरण समेत खुलाएर फारम भरी पठाउन भनिएको छ ।

नेकपा पार्टी विधानको धारा ६८ मा अनुशासन आयोगले त्यस्तो सम्पत्ति विवरण लिन सक्ने उल्लेख छ । अनुशासन आयोग गठन भइसकेको छैन । तत्कालीन एमालेमा अनुशासन आयोगका अध्यक्ष रहेका नेता अमृत बोहोराले विधानले तोकेको निकाय, अधिकार प्राप्त व्यक्ति वा संस्थाबाहेक अन्यले कोही कसैका पनि व्यक्तिगत सम्पत्तिको लागत राख्न नसक्ने बताए ।
अन्नपूर्ण पोष्टबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *