Sajhamanch Archive

दोस्रो विश्वयुद्धमा हराएको पर्स ७७ वर्षपछि भेटियो, यस्तो छ कहानी

Published: (Updated: ) in विविधा, by .

झन्डै शताब्दीपहिले हराएको पर्स फेरि भेटिएला भन्ने आशा कसले सायदै राखेको हुन सक्छ । तर, आशा नराखे पनि यस्तो भएको छ ।

अमेरिकाको जर्जियामा बस्ने रोय रोट्स नामका वृद्धको जीवनमा ७७ वर्षपछि खुसी छाएको छ । ७७ वर्षअघि युद्धक्रममा हराएको पर्स भेटिएपछि ती वृद्ध अहिले कम्ता मात्रै खुसी छैनन् ।

पर्स मात्रै हो र ! त्यसबेला पर्ससँगै हराएका कागजपत्र पनि सहीसलामत उनले फेला पारेका छन् । उसबेला पर्स हराएका वृद्ध अहिले १०० वर्षका भएका छन् । यसको अर्थ उनी पर्स हराउँदा २३ वर्षका रहेछन् ।

खबरअनुसार युद्धक्रममा पर्स हराएको दिन भने ती वृद्ध अहिले पनि सम्झिन सक्छन् । ‘म इलेक्ट्रिकल इन्स्पेक्टर थिएँ । र, मेरो काम जहाजको जाँच गर्नु थियो । त्यसदिन म क्यालिफोर्नियामा थिएँ । दोस्रो विश्वयुद्ध सुरु भइसकेको थियो,’ ती वृद्धले पर्स हराएको दिनको याद गर्दै भनेका छन्, ‘हामी सबै एकै जहाजमा थियौं । त्यसैबेला मलाई मेरो पर्स हराएको थाहा भयो । पछि मैले सबैलाई सोधीखोजी गरे पनि पर्स भेटिएन ।’

भएको के रहेछ भने, रोय रोट्सको गोजीबाट खसेको उक्त पर्स एडगर वारेन बड्र्सको हातमा परेछ । बड्र्स बेलायतको डर्बिसायरस्थित रोयल एयरफोर्सका कर्मचारी थिए त्यसबेला ।

खबरअनुसार रोेट्सको बेपत्ता पर्समा उनको सवारी चालकलगायत कागजपत्र थिए । त्यसमा रोट्सको घर–ठेगाना पनि थियो । तैपनि, बड्र्सले लाइसेन्समा भएको रोट्सको ठेगानामा पर्स पठाएनन् ।

बरु, उनले पर्स आफूसँगै जतन गरेर राखे । उक्त पर्सको जतन उनका घरका अन्य सदस्यले पनि गरिदिए । वारेनले उक्त पर्स आफ्ना छोरालाई दिएका थिए । अनि, छोराले आफ्नी छोरीलाई दिए ।

अन्ततः एकदिन वारेनकी नातिनीले जतन गरी राखेको उक्त पर्स रोट्सलाई फिर्ता गरेरै छाडिन् । तर, वारेन आफैंले उक्त पर्स किन आफैंले रोट्सलाई दिएनन् भन्ने कुराचाहिँ आजसम्म पनि खुलेको छैन । र, खुल्ने कुरा पनि भएन । कारण– वारेनको चोला यो धर्तीबाट उठिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *