Sajhamanch Archive

नोबेल अस्पताल विराटनगरमा चोरको बिगबिगी

Published: (Updated: ) in समाज by .

विराटनगर । शनिवार राति झापाको चन्द्रगढीका दिवेश पुरी आमासँग नोबेल अस्पतालको आईसीयू अगाडि कुरुवाको रुपमा सुतिरहेका थिए । नजिकै अर्की महिला पनि थिइन् ।

उनी सुतेको ठाउँमा आएर शुरूमा एक अपरिचित व्यक्तिले ‘पैसा आवश्यक परे भन्नुहोला’ भन्यो । अनि त्यही नजिकै एउटा कपडा ओछ्याएर त्यो व्यक्ति सुत्यो । त्यो अपरिचितले दिवेशको सुतेको बेलामा छातीमा राखेर हेर्दै गरेको मोवाइल गायव बनायो । एकैछिन पछि त्यहाँ त्यो व्यक्ति पनि थिए ।

दिवेशले भने, ‘मसँग के–के गफ गरिरहेको थियो । मलाई त्यसको केही कुरा विश्वास लगेको थिएन । तर, त्यो मेरोभन्दा अलिक नजिकै कुरुवा बनेर सुतेको थियो । राति हेर्दै गरेको मोवाइल छातिमा राखेर म निदाएछु, त्यो बेला मेरो मोवाइल चोरेर त्यो फरार भएछ ।’ राति साढे १ बजे त्यो व्यक्तिले आएर सामान चोरेको उनले बताए ।

शनिवार राति त्यही अवस्थामा नोबेल अस्पतालको आईसीयू अगाडि नै सुतेका थिए बुढीगंगा गाउँपालिका टंकीका खगेन्द्र भण्डारी । उनको नजिकै त्यसैगरी अपरिचित व्यक्ति आएर सँगै सुत्न थाल्यो । आफ्नो ओछ्यानमा आएर सुतेको त्यो व्यक्ति कुनै बिरामीको कुरुवा होला भन्ने लागेर खगेन्द्र पनि केही बोलेनन् । पछि खगेन्द्रले लगाएको ओछ्यान नै बोकेर हिँड्न लागेको थाहा पाइसक्दा त्यो चोर त्यहाँ थिए ।

नजिकै १ महिला भएको ठाउँमा गएर झोलामा हात हाल्दै गरेको थाहा पाएपछि उसलाई समातेर प्रहरीलाई बुझाएको उनले सुनाए । बिरामीका कुरुवाले शुक्रवार राति पनि त्यसैगरी बिरामीका आफन्तको ४० हजार रुपैयाँ हराएको सुनाए ।

चोरको फन्दाबाट जोगिएकी झापाकै एलिसाको समस्या पनि उस्तै नै छ । उनको चार्जमा राखेको मोबाइल निकाल्दै गर्दा उनले अड्कल काटिन्, हिजो पनि मोबाइल हराएको थियो, आज पनि यो व्यक्तिले मोबाइल निकाल्न खोज्यो, पक्कै पनि चोर यही होला भन्ने उनलाई लाग्यो ।

उनले भनिन्, ‘यहाँ मोबाइल लगायतका धेरै बहुमुल्य सामान हराएको थाहा पाएपछि चोरको खोजीमा लागेको थिएँ । २ दिनदेखि यो पहेंलो कपडा लगाएको व्यक्ति नै चोर रहेछ ।’ उनले प्रहरीलाई बोलाएर जिम्मा लगाएको बताइन् ।

नोबेल अस्पतालभित्र सीसी क्यामेरा भएपनि बिगारेर राखिएको छ । चोरी हुने ठाउँको क्यामेरा बिग्रिएको जानकारीमा आएको बिरामीका आफन्तले बताए । चोरीका लागि आउनेले आफैं परिचय बनाउने, नजिकिने, सँगै सुत्न खोज्ने, कोही नभएका ठाउँका झोलाबाट बहुमुल्य सामान खोज्ने गरेको पाइएको छ ।

चोरीबारे सुरक्षा गार्डलाई भन्दा समेत चासै नदिने गरेको बिरामीका आफन्तले बताउँछन् । सुरक्षा गार्डलाई ३ पटक खबर गर्दा पनि चोरलाई पक्रन नआएपछि प्रहरीलाई खबर गरिएको एलिसाले बताइन् । उनले चोरसँग सुरक्षामा रहेका सुरक्षा गार्डको समेत सेटिङ भएको हुन सक्ने बताइन् ।

बिरामीका आफन्तले प्रहरीलाई खबर गरेपछि १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य १ जनालाई बिरामीका आफन्तले नै पक्राउ गरेर जिम्मा लगाएका छन् । अन्य २ जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर कोचाखालका विजय दास रहेका छन् । कोचाखालकै प्रभू साह र आनन्द पासवान फरार रहेका छन्  ।

चोरको ठूलो गिरोह नोबेल अस्पतालमा सक्रिय रहेको पाइएको छ । यसबारे मोरङ प्रहरीले सक्रिय रुपमा चोरीमा संलग्नको खोजी गरिरहेको बताएको छ । नोबेलका सञ्चालकले भने अस्पतालभित्र आउने मान्छेबारे सबै जानकारी नआउने र कोहीले गल्ती गरिहालेको अवस्थामा सुरक्षा गार्ड परिचालन गरिएको जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *